
मधेस प्रदेश प्रहरी कार्यालय, वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीको समन्वयात्मक र सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।
शुक्रबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसएसपी कोइरालाले सामाजिक अपराध, लागूपदार्थ दुरुपयोग, मानव तस्करी तथा सीमापार आपराधिक गतिविधिहरू मधेस प्रदेशका प्रमुख चुनौती रहेको उल्लेख गरे। यस्ता जटिल अपराध नियन्त्रणका लागि प्रहरी मात्र नभई स्थानीय समुदाय, सञ्चारकर्मी र सरोकारवाला निकायहरूको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
“हामी आठवटै जिल्ला प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै समन्वयात्मक ढंगले अपराध नियन्त्रण तथा जनसुरक्षाका काममा जुटिरहेका छौं,” उनले भने, “सूचना संकलन, विश्लेषणदेखि कानुनी कार्यान्वयनसम्मको प्रक्रियामा हाम्रो ध्यान केन्द्रित हुनेछ।”
संघीय प्रहरी ऐन अहिलेसम्म लागू नभएको कारण केही कानुनी अप्ठ्यारा रहेको स्वीकार गर्दै एसएसपी कोइरालाले कानुनी संरचना स्पष्ट भएपछि मधेस प्रदेश प्रहरीको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। “सीमित स्रोतसाधन र कानुनी चुनौती हुँदाहुँदै पनि हामी निरन्तर अपराध नियन्त्रण र शान्ति व्यवस्थापनमा क्रियाशील छौं,” उनले स्पष्ट पारे।
उनका अनुसार मधेस प्रदेश प्रहरी कार्यालयको स्थापना २०७५ सालमा जनकपुरमा भएको भए पनि २०७८ साल फागुन ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार यसलाई वीरगञ्ज सारिएको हो। हाल वीरगञ्जस्थित कार्यालय अपराध अनुसन्धान, सूचना व्यवस्थापन र नीति कार्यान्वयनमा अझ प्रभावकारी बन्दै गएको उनले बताए।
कार्यक्रममा एसएसपी कोइरालाले पत्रकारहरूसँगको सहकार्यको आवश्यकता पनि औंल्याए। “पत्रकारहरू समाजको ऐना हुन्। तपाईंहरूले प्रदान गर्ने सूचना र तथ्यहरूले अपराध नियन्त्रणमा प्रत्यक्ष सहयोग पुर्याउन सक्छ,” उनले भने।
उनका अनुसार प्रदेश प्रहरी कार्यालयले आगामी दिनहरूमा थप रणनीतिक योजना बनाएर शान्ति, सुरक्षा र सुव्यवस्थाको सुदृढीकरणमा सक्रियतापूर्वक अघि बढ्नेछ। यसका लागि स्थानीय तह, प्रशासन, नागरिक समाज र सञ्चारकर्मीहरूसँगको समन्वयलाई पहिलो प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरूले प्रदेशको वर्तमान सुरक्षा अवस्था, सीमापार अपराध नियन्त्रण र प्रहरी सेवाको पारदर्शिता सम्बन्धी जिज्ञासा राखेका थिए। जवाफमा एसएसपी कोइरालाले जनताको विश्वास जित्ने प्रहरी सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याए।




