सर्लाही–४ मा एउटै परिवारका सदस्य र आफन्तसहित ६ जना महाधिवेशन प्रतिनिधि

सर्लाही–४ मा एउटै परिवारका सदस्य र आफन्तसहित ६ जना महाधिवेशन प्रतिनिधि

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं नेता गगनकुमार थापाको निर्वाचन क्षेत्र सर्लाही–४ बाट पूर्वजिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहका परिवारका सदस्य तथा आफन्तसहित ६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

क्षेत्रीय अधिवेशनबाट धनकौल–२ निवासी पूर्वजिल्ला सभापति सिंहसहित उनका भाइ, श्रीमती र छोरा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। चयन हुनेमा मधेश प्रदेश कांग्रेसका उपसभापति एवं सिंहका सहोदर भाइ वीरेन्द्रप्रसाद सिंह, श्रीमती बेबी सिंह र छोरा सुधीरकुमार सिंह रहेका छन्।

परिवारका चार सदस्यबाहेक सिंहका दुई जना भिनाजु केदारनन्दन चौधरी र रविनन्दन चौधरी पनि सर्लाही–४ बाटै महाधिवेशन प्रतिनिधि चयन भएको कांग्रेस स्रोतले जनाएको छ।

क्षेत्रीय अधिवेशनबाट सहमतिका आधारमा प्रतिनिधि छनोट गरिएको बताइए पनि एउटै परिवारका सदस्यहरू प्रतिनिधि चयन भएपछि कांग्रेसभित्र यस विषयमा चर्चा र असन्तुष्टि देखिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, पूर्वजिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि २०८२ भदौमा जिल्ला सभापति पदबाट राजीनामा दिएका थिए। विशेष अदालतले २०७१ पुस २५ गते मनुसमरा सिँचाइ आयोजना क्षेत्रको रूख कटानीसम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो। पछि सर्वोच्च अदालतबाट समेत दोष कायम भएको र त्यसपछि सिंहले पार्टीको जिल्ला सभापति पदबाट राजीनामा दिएको समाचार सार्वजनिक भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close