पर्साका एसपी पाठकले इन्स्पेक्टरहरुसँग एक वर्षे कार्य सम्पादन सम्झौता गरे

पर्साका एसपी पाठकले इन्स्पेक्टरहरुसँग एक वर्षे कार्य सम्पादन सम्झौता गरे

पर्सा जिल्लामा हालै सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले मातहतका इलाका प्रहरी कार्यालयहरूका प्रमुखहरूसँग एक वर्षे कार्य सम्पादन सम्झौता गरेका छन्।

आइतबार एसपी पाठकले इलाका प्रहरी कार्यालय वीरता, श्रीपुर, पटेर्वा सुगौली, ठोरी र पोखरियाका प्रहरी निरीक्षकहरूसँग लिखित रूपमा सम्झौता गरेका हुन्। नेपाल प्रहरीको प्रधान कार्यालयको निर्देशनअनुसार गरिएको यस सम्झौतामा एक वर्षको अवधिमा पुरा गरिनुपर्ने प्रमुख लक्ष्यहरू समेटिएका छन्।

प्रहरी उपरीक्षक पाठकका अनुसार आर्थिक वर्षको सुरुवातसँगै हरेक वर्ष साउन महिनादेखि असारसम्मका लागि यस्तो सम्झौता हुँदै आएको छ। तर, चालू आर्थिक वर्षमा यसअघि सम्झौता गर्न नपुगेकाले आफूले आइतबार उक्त प्रक्रिया पूरा गरेको बताए।

सम्झौतामा अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने, राज्यका तर्फबाट राजस्व संकलनमा सहयोग पुर्‍याउने, विगतका अल्झिएको मुद्दाहरूको निष्कर्ष निकाल्ने, नयाँ मुद्दाहरूलाई समयमै अगाडि बढाउने तथा शान्ति सुरक्षा सुदृढ गर्ने जस्ता प्राथमिकताका क्षेत्रहरू उल्लेख छन्।

एसपी पाठकले सम्झौताको spirit अनुसार काम गर्न मातहत इन्स्पेक्टरहरूलाई निर्देशनसमेत दिएका छन्। सम्झौता कार्यक्रमको अवसरमा पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत पनि उपस्थित थिए।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close