वीरगञ्जको दशैं मेलामा कुटपिट हुँदा एक युवकको मृत्यु, तीन जना पक्राउ

वीरगञ्जको दशैं मेलामा कुटपिट हुँदा एक युवकको मृत्यु, तीन जना पक्राउ

पर्साको वीरगञ्जमा जारी दशैं मेलामा मंगलबार राति कुटपिट हुँदा एक युवकको ज्यान गएको छ। दुई समूहबीचको विवाद कुटाकुटमा परिणत हुँदा घाइते भएका युवकको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो।

ज्यान गुमाउने युवक बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) हुन्। उनी ई–रिक्सा चालक थिए। उनका पिता हिन्दू र आमा मुस्लिम समुदायका हुन्।

मंगलबार राति करिब ११:४५ बजे माईस्थानबाट गीता मन्दिरतर्फ जाने बाटोमा दुई युवासमूहबीच वादविवाद सुरु भई हातहालाहातको स्थितिमा पुगेको थियो। कुटपिटका क्रममा कानुलाई बाँसको लठ्ठीले प्रहार गरिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई नारायणी अस्पताल पुर्याउने क्रममा बाटोमै ज्यान गएको हो।

घटनापछि प्रहरीले संलग्न रहेको आशंकामा तीन जनालाई राति नै नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकका अनुसार यो कुनै ग्याङ फाइट नभई लक्षित हमला हुनसक्ने देखिएको छ।

“घटनामा संलग्न हुनसक्ने तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ,” एसपी पाठकले भने, “युवाबीचको सामान्य विवादबाट घटना भएको देखिन्छ तर एकजनामाथि मात्र आक्रोशित भएर आक्रमण गरिएको हो।”

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close