
फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचारको जरो फेरि बाहिर आएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत यादव, लेखापाल कामेश्वर सहनी, इन्जिनियर मो. फिरोज आलम र जिन्सी हरेन्द्र यादवले ३० प्रतिशत कमिशन नपाएको कारण देखाउँदै ठेकेदारको भुक्तानी रोकेको सनसनीपूर्ण आरोप सार्वजनिक भएको छ।
टावर लाइट जडान कार्य सम्पन्न गरिसकेका सप्लायर्स ललित श्रीवास्तवले नगरपालिकाले योजनाबद्ध रूपमा भुक्तानी रोक्दै आफूलाई आर्थिक र मानसिक रूपमा सताएको बताएका छन्। श्रीवास्तवका अनुसार, सम्पूर्ण कागजात दुरुस्त रहे पनि छ महिनादेखि भुक्तानी नदिई अन्याय गरिएको छ।
उनका भनाइअनुसार, प्रमुख प्रशासकदेखि इन्जिनियर र कार्यवाहक मेयरको श्रीमान् शेख सेराज आलमसम्मलाई खाजा–नास्ता र अन्य खर्चका नाममा लाखौं रुपैयाँ बुझाए पनि मागअनुसार ३० प्रतिशत कमिशन नदिँदा काटिएको चेकमा सही गर्न अस्वीकार गरिएको हो।
श्रीवास्तवले भ्रष्टाचारको प्रमाणस्वरूप प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल सहनी र अन्य कर्मचारीहरूले कमिशन मागिरहेको अडियो रेकर्ड सार्वजनिक गर्दै, छानबिनका लागि सम्बन्धित निकायमा उजुरी गर्ने बताएका छन्।
स्थानीयवासीहरूले पनि नगरपालिकामा मौलाएको भ्रष्टाचारप्रति तीव्र आक्रोश व्यक्त गर्दै तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।





