भारतको महावाणिज्य दूतावास, बीरगञ्जद्वारा भव्य हिन्दी कवि सम्मेलन सम्पन्न

भारतको महावाणिज्य दूतावास, बीरगञ्जद्वारा भव्य हिन्दी कवि सम्मेलन सम्पन्न

राहुल गुप्ता
भारतको महावाणिज्य दूतावास, बीरगञ्जद्वारा आयोजित हिन्दी कवि सम्मेलन अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। भारत र नेपालका प्रख्यात कवि तथा कवयित्रीहरूको सहभागितामा सम्पन्न यस साहित्यिक समारोहले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाएको छ।

कार्यक्रमको अध्यक्षता भारतका महावाणिज्य दूत देवी सहाय मीनाले गर्नुभयो भने कार्यक्रमको सञ्चालन मनीष दास (Consul) ले कुशलतापूर्वक गर्नुभयो। कवि सम्मेलनमा करिब एक सयभन्दा बढी श्रोता–दर्शकहरूको उपस्थितिले सभागृहलाई उत्साहमय बनाएको थियो।

कार्यक्रममा राम भरोस काप्री “भ्रमर” (जनकपुर),हरेंद्र हिमकर (रक्सौल), सतीशचन्द्र साजल,डा. सुचित शर्मा, शंकर नारायण यादव, प्रमोद पाण्डे, आमोद गुप्ता, ऋतुराज, अनिता साह, जानकी गोस्वामी, अस्मिता पटेल , प्रिया मिश्र, गीता कर्ण , अशोक बैद र सच्चिदानन्द सिंह लगायतका कवि तथा कवयित्रीहरूले आफ्ना सशक्त काव्य वाचन गरेका थिए।

कविहरूले प्रेम, प्रकृति, समाज, राष्ट्रभक्ति, र मानवता जस्ता विविध विषयवस्तुमा आधारित रचनाहरू प्रस्तुत गरी उपस्थित श्रोतालाई मन्त्रमुग्ध पारे। कविताहरूमा सामाजिक चेतना, राष्ट्रिय एकता र सांस्कृतिक सौन्दर्यका सन्देशहरू स्पष्ट झल्किएका थिए।

कार्यक्रमका अध्यक्ष देवी सहाय मीनाले आफ्नो सम्बोधनमा भने, “भारत र नेपालबीचको सांस्कृतिक, भाषिक र साहित्यिक सम्बन्ध अत्यन्त गहिरो र ऐतिहासिक छ। यस्ता कार्यक्रमहरूले आपसी मित्रता र सांस्कृतिक एकता अझ मजबुत बनाउँछन्,”भन्नुभयो।

उपस्थित साहित्यप्रेमीहरूले दूतावासद्वारा गरिएको यो प्रयास प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि यस किसिमका साहित्यिक कार्यक्रम निरन्तर रूपमा आयोजना गर्न सुझाव दिएका थिए।

यस कवि सम्मेलनले बीरगञ्जलाई एक दिनका लागि साहित्यिक राजधानीमा परिणत गरेको सर्वसम्मत धारणा सहभागीहरूले व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close