
वीरगंज स्पोर्ट्स एकेडमी (BSA) र लायन्स क्लब अफ बीरगंज परिवारको संयुक्त आयोजनामा ‘६औँ कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ आगामी मंसिर २० र २७ गते आदर्शनगरस्थित रंगशालामा हुने भएको छ।
५ ओभरको छोटो प्रारूपमा ६–६ खेलाडीको सहभागितासहित सञ्चालन हुने यो प्रतियोगिता लिग तथा नकआउट दुवै चरणमा सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्। बीरगंज तथा आसपासका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, फर्मास्युटिकल्स, गाडी विक्रेता कम्पनी, उत्पादनमूलक उद्योगलगायतका कर्पोरेट क्षेत्रमा कार्यरत २४ टोलीले यस वर्ष प्रतिस्पर्धा गर्नेछन्। केही टोलीले दर्ता प्रक्रिया सकाइसकेको आयोजकको भनाइ छ।
लायन्स क्लब अफ बीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेका अनुसार प्रतियोगितामा सहभागी हुन २४ भन्दा बढी टिमले अनुरोध गरेका छन्, जसले कर्पोरेट क्षेत्रभित्रको आकर्षण र उत्साह उच्च रहेको संकेत गर्दछ।
प्रतियोगिताले कर्पोरेट क्षेत्रबीच आपसी सम्बन्ध मजबुत बनाउने, स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने तथा बीरगंजमा कर्पोरेट स्पोर्ट्स संस्कृतिको विकास गर्ने उद्देश्य लिएको वीरगंज स्पोर्टस एकेडमीले जनाएको छ। यसअघि सन् २०१३, २०१४, २०१५, २०१८ र २०२४ मा गरी पाँच संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। अघिल्लो संस्करणमा ‘अग्नि ग्रुप’ विजेता बनेको एकेडमीका सचिव नरेश रौनियारले स्मरण गरे।
करीब ४ लाख रुपैयाँ लागतमा आयोजना हुने प्रतियोगितामा विजेता तथा उपविजेतालाई ट्रफीसहित सम्मान गरिनेछ भने उत्कृष्ट बलर, ब्याट्सम्यान, फिल्डर र उत्कृष्ट खेलाडीलाई विशेष अवार्ड प्रदान गरिनेछ।
यस अवसरमा सिप्रदी बीरगंजका ब्रान्च म्यानेजर सन्दीप गुप्ताले कर्पोरेट खेलकुदले संस्थागत सहकार्य र कर्मीहरूबीचको आत्मीयता अभिवृद्धि हुने उल्लेख गर्दै प्रतियोगिताले बीरगंजलाई कर्पोरेट स्पोर्ट्सको उत्कृष्ट गन्तव्य बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।



