पर्सागढिमा नेपाली सेनाद्वारा आयोजित ‘बृहत् स्वास्थ्य शिविर–२०८२’ भव्य रूपमा सम्पन्न, हजारौँ नागरिक लाभान्वित

पर्सागढीमा ऐतिहासिक स्थलमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगन्जस्थित नेपाली सेनाको श्रीजङ्ग गणले आइतबार पर्सागढी नगरपालिका–६ स्थित ऐतिहासिक युद्धस्थलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। उक्त शिविरमा महिला र पुरुष गरी करिब ६ सय स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

यस स्वास्थ्य शिविरको आयोजना ऐतिहासिक पर्सागढी विजयको स्मरणमा गरिएको हो। करिब २१० वर्षअघि, विक्रम संवत १८७१ पुस १९ गते, गोर्खाली सेनाले स्थानीय रञ्जित चौधरीको कुशल युद्ध नीतिका माध्यमबाट आधुनिक हतियारले सुसज्जित ब्रिटिश भारतको विशाल सेनालाई पराजित गरेको थियो। श्रीजङ्ग गण वीरगन्जका गणपति एवं प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार, “स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै जनता र सेनाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले यो शिविर आयोजना गरिएको हो।”

शिविरमा आर्थोपेडिक, छाती तथा स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गराइएको थियो र आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। अधिकांश स्थानीय नागरिक समयमै स्वास्थ्य सेवा लिन चिकित्सकको सम्पर्कमा पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको थियो।

‘बृहत् स्वास्थ्य शिविर–२०८२’ अन्तर्गत सञ्चालन भएको यस कार्यक्रममा नेपाली सेनाका विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूले आन्तरिक रोग, शल्य चिकित्सा, स्त्रीरोग, बालरोग, नेत्ररोग, दन्त, फिजियोथेरापी, त्वचा तथा मानसिक स्वास्थ्य लगायतका बहुविशेषज्ञ सेवा प्रदान गरेका थिए।

विशेषज्ञ चिकित्सकहरूमा डा. सेलेस्मा रिजाल (नाक–कान–घाँटी विशेषज्ञ), डा. बिप्लव सुवेदी (जनरल फिजिसियन), प्रयास तिमिल्सिना (हाडजोर्नी तथा नसा रोग विशेषज्ञ) र डा. दिपक चौरसिया रहेका थिए।

शिविरलाई स्थानीय र निजी संस्थाहरूको सहयोगले थप प्रभावकारी बनाएको थियो। यसमा **श्री वीरगन्ज सामुदायिक आँखा केन्द्र, श्री प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, श्री नारायणी अस्पताल, श्री शान्ति क्लिनिक, श्री पोखरिया प्रादेशिक अस्पताल, पर्सागढी नगरपालिका, क्वेस्ट फार्मास्युटिकल्स र नेपाल औषधि उत्पादक संघ लगायतका संस्थाहरूले औषधि, जनशक्ति र उपकरण उपलब्ध गराएका थिए।

कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, श्रीजङ्ग गणका प्रमुख कर्नेल लोकेन्द्र कार्की, सामाजिक अभियन्ता दिलिप राज कार्की, पूर्व मेयर लोकनरायण यादव, आँखा विशेषज्ञ महेश सिंह धामी,नेपाल पत्रकार महासंघ पर्साक कार्यसमिति सदस्य राहुल गुप्ता लगायत अन्य बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति सहभागी भएका थिए।

स्थानीय स्वास्थ्यकर्मीहरूले यस्ता समुदायमुखी स्वास्थ्य अभियानले स्वास्थ्य सचेतना अभिवृद्धि, प्राथमिक उपचारको पहुँच विस्तार र दीर्घकालीन रोग पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। आगामी वर्षमा शिविरको दायरा अझ बढाउँदै आधुनिक उपकरण, विशेषज्ञ सेवा र व्यापक जनसहभागितासहित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेपाली सेनाको अग्रसरता, स्थानीय संरचनाको सहकार्य र समुदायको सक्रिय सहभागिताले ‘बृहत् स्वास्थ्य शिविर–२०८२’लाई प्रदेशकै प्रभावशाली सार्वजनिक स्वास्थ्य अभियानको रूपमा स्थापित गरेको निष्कर्ष सरोकारवालाहरूले निकालेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close