
बारा —देशभर जेन-जी युवाहरू भ्रष्टाचारविरुद्ध सडक र सामाजिक मञ्चमा इतिहासकै सबभन्दा तीव्र दबाब सिर्जना गरिरहेका बेला बारा जिल्ला यातायात व्यवस्था कार्यालय भने भ्रष्टाचार, परिवारवाद र राजनीतिक संरक्षणको ‘जीवित नमूना’ बनेको स्थानीयहरूका गम्भीर आरोपहरू प्रकाशित भइरहेका छन्।
कार्यालयभित्र ‘अदृश्य सत्ता’ चल्छ ?
सेवाग्राहीहरूको दाबीअनुसार, कार्यालयको वास्तविक निर्णय–सञ्चालन प्रमुखभन्दा भन्दा बढी निजी फ्रन्ट–डेस्क, एजेन्ट नेटवर्क र परिवारिक संरचना मार्फत चलाइने गरिएको छ।
एक सेवाग्राहीको कडा आरोप :प्रमुख देखिँदैनन्, तर लाइसेन्स पास–फेलदेखि फाइल मिलाउनेसम्म सबै ‘पहिल्यै मिलाइएको लाइन’ अनुसार चल्छ।”
परिवारजनलाई करारमा भर्ति ? कार्यालय ‘फ्यामिली बिझनेस’ जस्तो !
स्थानीय स्रोतहरूका अनुसार कार्यालयका प्रमुख अविन्दर दासले आफ्नै परिवारका सदस्यहरूलाई करारमा राखेर कार्यालय सञ्चालनमा सीधा प्रभाव जमाएको दाबी बारम्बार उठिरहेका छन्।
स्रोतहरू भन्छन्, “कार्यालय सरकारी भन्दा व्यक्तिगत ‘नेटवर्क’ जस्तो देखिन्छ।”
ट्रायल बिना १०–२० हजारमा लाइसेन्स ?
सेवाग्राही तथा स्थानीय नागरिकहरूले लगाएका आरोप झन् गम्भीर छन् :“फिक्स–रेट बुझाउने पास, पैसा नदिने सिधै फेल”,“ट्रायल नदिई १०–२० हजारमा लाइसेन्स दिने”,“नतिजा हेरफेर गरिन्छ”
एक युवाले आफ्नो पीडा यसरी सुनाए “ट्रायल पास भए पनि मलाई जानी–जानी फेल गराइयो। पछि उल्टै ३० हजार मागियो।”
यो आरोप देशभर फैलिएको जेन-जी आन्दोलनको पृष्ठभूमिमा झन् विस्फोटक बनेको छ।
राजनीतिक संरक्षण ? ‘किन कारबाही हुँदैन ?’
स्थानीय राजनीतिक वृत्तको दाबी :मुख्यमन्त्री स्तरसम्मको पहुँचका कारण गम्भीर उजुरीहरू दवाइने, कारबाही नहुने र नेटवर्क झन् बलियो बन्दै गएको आरोप छ।
यही कारणले धेरै नागरिक भन्छन्,“जिल्ला प्रशासन हेरेको भए यति ठूलो भ्रष्टाचार चल्नै सक्थेन।”
विगतका विवादहरू पनि छायामा छैनन्
अविन्दर दासका बारेमा पहिलेका विवादहरू नेपालीकरण प्रक्रियामा अनियमितता, कागजात नष्ट प्रकरण, निलम्बन सम्बन्धी उजुरी फाइलहरूमा उल्लेख भएको स्थानीय स्रोतको भनाइ छ।
यी आरोपहरूले अहिलेको विवादलाई झन् गम्भीर बनाएको छ।
जेन–जी युवाहरूको प्रश्न : “हामी सडकमा किन ? जब राज्य आफै मौन छ ?”
देशभर जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध उठाइरहेको आवाज बीच बारा यातायात कार्यालयमा आरोपित काण्डहरू सार्वजनिक हुँदै जानु, नागरिकका अनुसार, राज्य व्यवस्थाको नैतिक पराजय हो।
जेन–जी समूहका युवाहरूको तर्फबाट उठेको मुख्य प्रश्न :
“हामी सडकमा र राज्य किन मौन ? यस्तो खुला भ्रष्टाचारलाई रोक्ने साहस किन कसैमा छैन ?”
बारा नागरिकद्वारा उठाइएका कुराहरू :तुरुन्त स्वतन्त्र छानबिन समिति,करार र नियुक्तिको पुनरावलोकन,ट्रायल प्रक्रियाको पूर्ण डिजिटल अनुगमन,राजनीतिक संरक्षणमा जरा गाडेको एजेन्ट नेटवर्कको सफाइ एक स्थानीयले भने,“यो कार्यालय सुधार नभएसम्म सेवाग्राहीहरुको अपमान जारी रहनेछ ।”




