डिएसपी कर्णद्वारा मिक्लाजुङमा डिजिटल तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन

डिएसपी कर्णद्वारा मिक्लाजुङमा डिजिटल तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन

राहुल गुप्ता
मिक्लाजुङ गाउँपालिकाको सभाहल आज बिहानैदेखि असाधारण र उत्साहपूर्ण वातावरणले भरिएको थियो। गाउँपालिकाले आयोजना गरेको डिजिटल तथा कानुनी सचेतना कार्यक्रम सहभागीहरूका लागि अत्यन्तै उपयोगी, शिक्षामूलक र व्यवस्थित बनेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा पाँचथर जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिश कुमार कर्ण मुख्य प्रशिक्षकका रूपमा उपस्थित रहँदै डिजिटल जोखिम, सामाजिक सुरक्षा, कानुनी दायित्व तथा दैनन्दिन जीवनमा आवश्यक पर्ने विविध विषयहरूबारे प्रभावकारी प्रस्तुति दिए। डिजिटल युगले ल्याएका चुनौती र तीबाट बच्न समुदायले अपनाउनुपर्ने सावधानीहरूलाई उहाँले सरल भाषा र वास्तविक उदाहरणसहित स्पष्ट रूपमा व्याख्या गर्नुभयो।

उहाँले सामाजिक सञ्जालका जोखिम, अनलाइन ठगीको पहिचान, सुरक्षित डिजिटल व्यवहार, पासवर्ड सुरक्षा र व्यक्तिगत गोपनीयता जोगाउने तरिकाबारे विशेष जोड दिनुभयो। साथै इ–सेवा, खल्ती, फेसबुक वा फोनमार्फत हुने ठगीबारे विस्तृत जानकारी दिँदै ठगीमा परेपछि प्रहरीलाई तत्काल खबर गर्ने प्रक्रिया पनि सहभागीहरूलाई बुझाउनुभयो।

डिएसपी कर्णले आपत्कालीन अवस्थाका लागि प्रयोग हुने ‘डायल 100’ प्रणालीबारे जानकारी दिँदै यसले कसरी छिटो सुरक्षा प्रतिक्रिया सुनिश्चित गर्छ भन्नेबारे प्रस्ट पारे। त्यस्तै विदेश अध्ययन वा रोजगारीका लागि आवश्यक पर्ने ‘पुलिस क्लियरेन्स रिपोर्ट’ लिनुपर्ने प्रक्रिया, आवश्यक कागजात तथा अनलाइन र काउन्टर दुवै माध्यमबारे विस्तृत मार्गदर्शन पनि प्रदान गरियो।

युवामा बढ्दो लागुऔषध दुव्र्यसन, परिवार र विद्यालयले निभाउनु पर्ने भूमिका तथा समाजमा पर्ने दीर्घकालीन असरबारे चेतना जगाउँदै उहाँले बालविवाह र बहुविवाहसम्बन्धी कानुनी व्यवस्था, उमेर सीमा, सजाय तथा रोकथामका उपायहरूबारे पनि व्यावहारिक जानकारी दिनुभयो।

कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय कर्मचारी, जनप्रतिनिधि तथा अभिभावकको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले प्रहरी अधिकारी स्वयं समुदायमा आएर प्रत्यक्ष प्रशिक्षण दिनुले प्रभाव अझ बढेको भन्दै कार्यक्रम प्रेरणादायी र आवश्यकता अनुरूप रहेको प्रतिक्रिया दिए। एक सहभागीले “यसरी प्रहरी अधिकारीले प्रत्यक्ष प्रशिक्षण दिँदा समुदायमा डिजिटल सुरक्षा र कानुनी चेतनाको स्तर अभूतपूर्व रूपमा बढेको छ” भन्दै कृतज्ञता व्यक्त गरे।

कार्यक्रमको समापनमा सहभागीहरूले जिल्ला प्रहरी कार्यालय पाँचथर तथा डिएसपी अनिश कुमार कर्णको सक्रियता र समुदाय सशक्तिकरणका प्रयासको प्रशंसा गर्दै सुरक्षित र सचेत समाज निर्माणका लागि प्रहरी–समुदाय सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close