
जनता र नेताबीचको बढ्दो असन्तोषबारे जसपा नेपालका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मीले आफ्नो सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्। उनले नेपालमा नेताप्रति जनआक्रोश बढ्नुका ऐतिहासिक र राजनीतिक कारणहरू औँल्याएका छन्।
कुर्मीका अनुसार २०४७ सालपछि लोकतन्त्र, समाजवाद र बहुदलीय जनवादको पक्षमा उभिएका युवाविद्यार्थीहरूले जेलनेल, कुटपिट र दमन सहँदै व्यवस्था परिवर्तन गरे। त्यही बलिदानको विश्वासमा जनताले बहुदलीय नेताहरूलाई प्रतिनिधि चुनेर सत्तामा पुर्याए। सुरुवाती चरणमा चुनावमा कुनै ठूलो खर्च नलागे पनि सत्तामा पुगेपछि ती नेताहरूले आफ्नो जीवनशैली परिवर्तन गर्दै राणा र पञ्चायतीकालीन मन्त्रीसरह विलासी जीवन बिताउन थालेको उनले उल्लेख गरेका छन्। काठमाडौंमा महल, करोडौँका गाडी र लक्जरी जीवनशैलीले जनतामा निराशा पैदा गरेको उनको भनाइ छ।
उनले बहुदलीय दलहरूबाट निराश भएका जनताले माओवादी सशस्त्र आन्दोलनलाई समर्थन गरेको स्मरण गराएका छन्। माओवादीले शोषित, पीडित, आदिवासी जनजाति र मधेशी समुदायलाई आत्मनिर्णयको अधिकारसहित स्वायत्त राज्यको अवधारणा अघि सारेको, सेना समावेशी बनाउने, छुवाछुत अन्त्य गर्ने र भूमिहीनलाई जमिन दिने जस्ता एजेन्डा उठाएको भए पनि सत्तामा पुगेपछि ती कुनै पनि मुद्दा कार्यान्वयन नभएको कुर्मीको आरोप छ। संविधानसभामा ठूलो दल बनेपछि माओवादी नेताहरूको जीवनशैली पनि परिवर्तन भएको र उनीहरूले उठाएका मुद्दा ओझेलमा परेको उनले बताएका छन्।
त्यसैगरी मधेश पहाडी शासकबाट आजित भई पहिचान र अधिकारको माग गर्दै ठूलो आन्दोलन भएको स्मरण गर्दै उनले मधेशी दलहरू सत्ताका लागि विभाजन र एकीकरणमा लाग्दा मधेशको राजनीतिक साख कमजोर भएको टिप्पणी गरेका छन्। आन्दोलनबाट आएका नेताहरू पनि सत्तामा पुगेपछि साधारण जीवनबाट विलासितातर्फ उन्मुख भएको उनको भनाइ छ।
कुर्मीले सडकबाट संसद् पुगेपछि जनप्रतिनिधिको जीवनशैली फेरिँदा जनता र कार्यकर्ताको सोच पनि परिवर्तन भएको बताएका छन्। भोटको सट्टा नोट चल्ने संस्कृतिले लोकतन्त्रलाई कमजोर बनाएको उनले उल्लेख गरेका छन्। वर्तमान सन्दर्भमा सबै दलले युवालाई प्रतिनिधिसभामा सिफारिस गर्नुपर्ने भए पनि पुरानै अनुहार दोहोरिइरहेको र दलआबद्ध शिक्षित युवाहरू उम्मेदवार बन्न डराइरहेको उनको भनाइ छ। विगतमा नेताका लागि भोट किन्न आफैँ संलग्न भएकाले अब आफू उम्मेदवार हुँदा पनि खर्च गर्नुपर्ने डर युवामा रहेको उनले बताएका छन्।
उनका अनुसार जनताको विश्वास टुटिसकेको छ। कतिपय नेताका घर जलाइए पनि उनीहरू अझै आफूलाई जनसेवकको रूपमा प्रस्तुत गरिरहेको र अन्ततः फेरि भोटको सट्टा नोट चल्ने अवस्थाबाट उनीहरूकै सरकार बन्ने अवस्था दोहोरिने उनको निष्कर्ष छ।




