भारत सरकारको सहयोगमा धनुषामा विद्यालय भवन उद्घाटन

भारत सरकारको सहयोगमा धनुषामा विद्यालय भवन उद्घाटन

राहुल गुप्ता
भारत सरकारको आर्थिक सहयोगमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित तुल्सियाहीमा निर्माण गरिएको बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ।

नवनिर्मित विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीना र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले गर्नुभएको हो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त विद्यालय भवन तथा सम्बन्धित पूर्वाधार भारत सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको हो। परियोजनाको कार्यान्वयन मुखियापट्टी मुसहरनिया गाउँपालिकामार्फत गरिएको थियो। चार करोड रुपैयाँभन्दा बढीको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको यस विद्यालय भवनले स्थानीय स्तरमा शैक्षिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालय धनुषा जिल्लाका अग्रणी सरकारी विद्यालयहरूमध्ये एकको रूपमा परिचित छ। विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ। साथै, विद्यालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग आबद्ध भई १८ महिनाको कम्प्युटर प्रि–डिप्लोमा पाठ्यक्रम सञ्चालन गर्दै आएको छ। हाल विद्यालयमा करिब २५०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा नै कुनै पनि राष्ट्रको दिगो विकासको आधार भएको उल्लेख गर्नुभयो। उहाँले नेपालको शैक्षिक विकासमा सहयोग गर्न पाउँदा भारत सरकार गर्वान्वित भएको बताउँदै नयाँ विद्यालय भवनले विद्यार्थीलाई सुरक्षित, सहज र गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विशेषगरी बालिका शिक्षाको प्रवर्द्धन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र ग्रामीण क्षेत्रका युवालाई अवसर प्रदान गर्न यस किसिमका परियोजनाहरू महत्वपूर्ण हुने धारणा राख्नुभयो।

महावाणिज्यदूत मीनाले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरीय सम्बन्ध अत्यन्त गहिरो रहेको उल्लेख गर्दै दुवै देशबीच शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामुदायिक विकासका क्षेत्रमा सहकार्य निरन्तर रूपमा विस्तार हुँदै गएको बताउनुभयो। उहाँले उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपाल सरकारका विकास प्रयासलाई सघाउने भारत सरकारको प्रतिबद्धता भविष्यमा पनि यथावत् रहने स्पष्ट पार्नुभयो।

कार्यक्रममा बोल्दै मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले भारत सरकारद्वारा प्रदान गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नयाँ विद्यालय भवनले विद्यार्थीको सिकाइ वातावरण सुधार हुनुका साथै स्थानीय समुदायमा शिक्षाप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूले पनि यस परियोजनाले क्षेत्रको समग्र शैक्षिक विकासमा दीर्घकालीन प्रभाव पार्ने बताएका छन्।

छिमेकी राष्ट्र भारत र नेपालबीचको बहुआयामिक तथा बहुक्षेत्रीय सहकार्यको उदाहरणका रूपमा यस विद्यालय भवन निर्माणलाई लिइएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनले स्थानीय तहमा शिक्षा लगायतका प्राथमिक क्षेत्रको पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको सरोकारवालाहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close