पर्सा क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका अशर्फी साह चुनाव लड्ने अडानमा

पर्सा क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका अशर्फी साह चुनाव लड्ने अडानमा

पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका
अशर्फी साहले आगामी फागुन २१ गते हुने निर्वाचनमा जसरी पनि चुनाव लड्ने स्पष्ट अडान व्यक्त गर्नुभएको छ।

लामो समयदेखि पार्टी र संगठन निर्माणमा सक्रिय रहँदै आउनुभएका साहले २०६४ सालदेखि निरन्तर रूपमा आफ्नो नाम सिफारिस हुँदै आए पनि अहिलेसम्म पार्टीबाट टिकट नपाएको गुनासो गर्नुभयो। उहाँका अनुसार पार्टीभित्र इमानदार र निष्ठावान् नेताभन्दा आर्थिक रूपमा पार्टीलाई सहयोग गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्ति हावी हुँदै गएको छ।

“हरेक निर्वाचनमा मेरो नाम सिफारिस हुन्छ, तर अन्तिम समयमा आएर टिकट दिइँदैन,” साहले भन्नुभयो, “आज पार्टीलाई इमानदार नेता होइन, चन्दा चढाउने नेता चाहिएको देखिन्छ।”

पार्टीभित्र देखिएको यस्तै प्रवृत्तिका कारण आम कार्यकर्ता निराश बन्दै गएको उहाँको भनाइ छ। जनताको मुद्दा, विकास र सुशासनका लागि आफू चुनावी मैदानमा उत्रिनै पर्ने अवस्था आएको दाबी गर्दै उहाँले टिकट पाए वा नपाए पनि जनताको समर्थनका साथ चुनावी अभियान अघि बढाउने संकेत गर्नुभएको छ।

स्थानीय तहमा निरन्तर सक्रिय रहँदै आउनुभएका साह पर्सा क्षेत्र नं. ३ मा स्वच्छ छवि, इमानदार र जनमुखी नेता का रूपमा परिचित हुनुहुन्छ।

लामो राजनीतिक यात्रा र संगठनमा योगदान

अशर्फी साह नेपाली राजनीतिमा लामो समयदेखि क्रियाशील, अनुभवी तथा समर्पित नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँको जन्म वि.सं. २०२७ फागुन १२ गते (सन् १९७० मे २५) मा पर्सा जिल्लामा भएको हो। उहाँ स्व. विश्वनाथ साहका सुपुत्र हुनुहुन्छ। हाल उहाँ बिर्गंज महानगरपालिका–११ मा बसोबास गर्दै आउनुभएको छ भने स्थायी ठेगाना पर्सा जिल्ला, पाटेर्वा सुगौली गाउँपालिका–०५ हो।

शैक्षिक रूपमा उहाँले वि.सं. २०४९ (सन् १९९२) मा वाणिज्यशास्त्र (B.Com) मा स्नातक उपाधि हासिल गर्नुभएको छ। विद्यार्थी जीवनदेखि नै लोकतन्त्र, समावेशिता र जनअधिकारको पक्षमा सक्रिय रहँदै आउनुभएका साहले वि.सं. २०३६ को जनमत संग्रहदेखि वि.सं. २०४६ को प्रजातान्त्रिक आन्दोलनसम्म सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

वि.सं. २०४२ देखि २०४८ सम्म नेपाल विद्यार्थी संघमा सक्रिय रहनुभएका साह वि.सं. २०४८ देखि निरन्तर नेपाली कांग्रेसका सक्रिय सदस्य रहनुभएको छ। वि.सं. २०५४ देखि २०५९ सम्म तरुण दलअन्तर्गत गाउँ इकाई समितिको अध्यक्षका रूपमा उहाँले संगठन विस्तारमा महत्वपूर्ण योगदान दिनुभयो।

वि.सं. २०६१ मा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को क्षेत्रीय कोषाध्यक्ष, वि.सं. २०६२ देखि २०६७ सम्म महासमिति सदस्य तथा वि.सं. २०६४ देखि २०६७ सम्म पर्सा जिल्ला नेपाली कांग्रेसको संयुक्त सचिवको जिम्मेवारी पनि उहाँले सफलतापूर्वक निर्वाह गर्नुभयो।

वि.सं. २०६२/०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएका साहको नाम २०६४, २०७०, २०७४ तथा २०८२ का विभिन्न निर्वाचनका लागि पार्टी स्तरबाट सिफारिस हुँदै आएको छ। वि.सं. २०७२ को १३औँ महाधिवेशनमा महासमिति सदस्य र २०७२ देखि २०७८ सम्म महाधिवेशन प्रतिनिधिका रूपमा पनि उहाँले पार्टीलाई सेवा गर्नुभयो।

त्यसैगरी कृषकको हकहितका लागि वि.सं. २०७० देखि २०७९ सम्म नेपाल किसान संघ पर्सा जिल्लाको अध्यक्षका रूपमा कार्य गर्दै किसान आन्दोलनलाई सशक्त बनाउन उहाँको योगदान उल्लेखनीय रहेको छ।

पार्टीप्रति दशकौँको सेवा, जनताप्रति प्रतिबद्धता

“कति संघर्ष गरेर यहाँसम्म पार्टीप्रति सेवा गर्दै आएको छु,” साहको भनाइले उहाँको पीडा र प्रतिबद्धता दुवै प्रस्ट पार्छ। लामो राजनीतिक अनुभव, संगठन निर्माणमा निरन्तर योगदान, लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको अडान र जनसेवाको भावनाका कारण अशर्फी साह आज पर्सा जिल्लामा एक भरोसायोग्य, अनुभवी र जनआधारित राजनीतिक व्यक्तित्व का रूपमा स्थापित हुनुहुन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close