
वीरगन्ज महानगरपालिकाको करिब एक वर्षदेखि रिक्त रहेको ‘आमसञ्चार प्रबद्र्धन तथा नियमन समिति’ को संयोजकमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन्।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाललाई समितिको संयोजकमा नियुक्त गरेका हुन्। नेपाल वीरगन्जबाट प्रकाशित हुँदै आएको प्रतिक दैनिक पत्रिकाका सम्पादक हुन् भने उनी नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्षसमेत रहिसकेका छन्।
बुधबार महानगरपालिकाका मेयर सिंहले आफ्नै कार्यकक्षमा बोलाई नवनियुक्त संयोजक नेपाललाई औपचारिक रूपमा जिम्मेवारी सुम्पँदै नियुक्तिपत्र प्रदान गरेका थिए।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका पत्रकार नेपालको अनुभव, निष्ठा र व्यावसायिकतालाई कदर गर्दै समितिको नेतृत्वको जिम्मेवारी दिइएको मेयर सिंहले बताए। यसअघि उक्त समितिको संयोजकको जिम्मेवारी पत्रकार ध्रुव अधिकारीले सम्हाल्दै आएका थिए।
नियुक्तिपत्र हस्तान्तरण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँल, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रलगायतको उपस्थिति रहेको थियो।




