ईश्वरपुरमा वनपालेको हत्या प्रकरणमा एक जना पक्राउ

ईश्वरपुरमा वनपालेको हत्या प्रकरणमा एक जना पक्राउ

सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको घटनास्थल नजिकै फेला परेको छ। सागरनाथ वन परियोजनामा वनपालेका रूपमा कार्यरत महतोको शव शनिबार टाउकोबिनाको अवस्थामा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार महतोको टाउको आइतबार दिउँसो घटनास्थलबाट करिब एक सय मिटर टाढा फेला परेको हो। घटनाको अनुसन्धानका लागि धनुषाको लालगढबाट विशेष अनुसन्धान टोली दुई वटा तालिमप्राप्त कुकुरसहित परिचालन गरिएको थियो।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। तर, अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार शनिबार बिहान वन क्षेत्रमा रूख काटिएको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ गएका थिए। उहाँ लामो समयसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा घटनाको खुलासा भएको थियो।

घटनापछि स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close