
वीरगन्ज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव वीरगन्ज आएका छन्। उनी शुक्रबार दिउँसो साढे १ बजे वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा आइपुगेका हुन्।
राजदूत श्रीवास्तव शुक्रबार मध्यान्ह काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको उडान नम्बर ५५३ मार्फत सिमरा हुँदै वीरगन्ज आएका हुन्।
नेपाल–भारत सम्बन्ध तथा सीमावर्ती क्षेत्रका विषयमा हुने सम्भावित छलफलका दृष्टिले राजदूत श्रीवास्तवको वीरगन्ज भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
भारतको रक्सौलसँग जोडिएको वीरगन्ज नेपाल–भारतबीचको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको छ। दुई देशबीचको व्यापार, सीमा व्यवस्थापन तथा सीमावर्ती क्षेत्रका विभिन्न विषयमा वीरगन्जको विशेष महत्व रहँदै आएको छ।
राजदूत श्रीवास्तवको वीरगन्ज भ्रमणका क्रममा हुने भेटघाट तथा छलफलका विषयमा भने दूतावास र नेपाल सरकार दुवै पक्षबाट औपचारिक विवरण सार्वजनिक गरिएको छैन।




