
मधेश प्रदेश प्रहरी कार्यालयभित्रै एक गम्भीर घटना घटेको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी गोबिन्द थपलियाको कार्यकक्षमै एक प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन्।
सुरक्षा स्रोतका अनुसार प्रहरी जवान रोशन यादवले डिआइजी थपलियाकै अगाडि आफ्नो हात काट्ने प्रयास गरेका थिए। घटनाले कार्यालयभित्र केहीबेर तनावपूर्ण अवस्था सिर्जना गरेको बताइएको छ।
तर, सोही क्रममा उपस्थित एक इन्स्पेक्टरले तत्काल हस्तक्षेप गर्दै यादवलाई रोकेपछि ठूलो दुर्घटना हुनबाट जोगिएको छ। हस्तक्षेपपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक उपचार तथा परामर्शका लागि व्यवस्था गरिएको स्रोतले जनाएको छ।
घटनाको कारणबारे यकिन जानकारी सार्वजनिक भइसकेको छैन। प्रहरी स्रोतका अनुसार घटनाबारे आन्तरिक रूपमा थप अनुसन्धान भइरहेको छ।
यस घटनाले प्रहरी संगठनभित्रको मानसिक स्वास्थ्य, कार्यदबाब र आन्तरिक व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ।



