
पर्सा । पर्सागढी नगरपालिका–बढनियारमा दोस्रो सातासमेत ‘घरदैलोमा डाक्टर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रभु हस्पिटल को सहकार्य तथा जुनतारा बचत सहकारी संस्था को आयोजनामा सम्पन्न कार्यक्रममा १९० महिला र ६० पुरुष गरी कुल २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण, सुगर जाँच तथा औषधि वितरण गरिएको थियो।
दुर्गम तथा विपन्न बस्तीका अस्पतालसम्म पुग्न नसक्ने बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य परामर्श र उपचार सेवा दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
स्थानीय बलिराम शुक्लाको समन्वय तथा जुनतारा सहकारीकी अध्यक्ष मञ्जु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभु हस्पिटलकी सञ्चालिका एवं स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ फिजिसियन डा. रवि रञ्जन साह ले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो।
पत्रकार तथा सामाजिक अभियन्ता बलिराम शुक्लाले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिन आफूले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम प्रमुख दिलीप राज कार्कीले अस्पताल केवल व्यवसायिक संस्थामात्र नभई सेवामुखी भावनासहित जनतासँग हातेमालो गर्दै अघि बढ्नुपर्ने धारणा राख्दै यस्ता अभियानलाई निरन्तर सञ्चालन गरिने बताउनुभयो।
कार्यक्रममा अध्यक्ष मञ्जु क्षेत्रीले दुर्गम क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउन आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, डा. लक्ष्मी थापाले दीर्घरोगी, ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्यसम्बन्धी गम्भीर समस्या भएका बिरामीलाई आगामी उपचारमा पनि अस्पतालले थप सहयोग र सेवा प्रदान गर्ने जानकारी दिनुभयो। उहाँले प्रभु हस्पिटलले आगामी हप्ताहरूमा अन्य पिछडिएका तथा दुर्गम क्षेत्रमा समेत घरदैलो स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने बताउनुभयो।



