
रौतहट, चन्द्रनिगाहपुर । देशभर लोडसेडिङ अन्त्य भएको वर्षौं बितिसकेको छ। तर रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि भने विद्युत आपूर्ति अझै पनि अनिश्चित र अविश्वसनीय बन्दै गएको छ। पछिल्लो समय दिनमै पटक–पटक लाइन जाने समस्या यति बढेको छ कि स्थानीयवासीले यसलाई “लोडसेडिङको नयाँ रूप” भनेर टिप्पणी गर्न थालेका छन्। चर्को गर्मीको समयमा बिजुलीको आँखामिचौलीले सर्वसाधारण, विद्यार्थी, बिरामी तथा व्यवसायी सबैलाई हैरानीको चरम सीमामा पुर्याएको छ।
स्थानीयवासीका अनुसार नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रमा नयाँ नेतृत्व आएयता समस्या झन् बढेको अनुभव गरिएको छ। पहिले पनि कहिलेकाहीँ विद्युत अवरोध हुने गरेको भए पनि अहिले दिनमै अनेकौं पटक लाइन जाने र आउने क्रम सामान्यजस्तै बनेको उनीहरूको गुनासो छ। बजार क्षेत्रदेखि आवासीय टोलसम्म कुनै पनि समय विद्युत आपूर्ति अवरुद्ध हुने भएकाले नागरिकहरू निरन्तर तनावमा बस्न बाध्य भएका छन्।
बुधबार मात्रै चन्द्रनिगाहपुर बजार, मुख्य चोक आसपास र विभिन्न आवासीय क्षेत्रमा पटकपटक विद्युत आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको थियो। गर्मीका कारण पंखा र कूलरको आवश्यकता अत्यधिक बढेका बेला लामो समयसम्म विद्युत नहुँदा नागरिकहरूले सास्ती खेप्नुपरेको छ। खानेपानी तान्ने मोटर बन्द हुँदा पानीको समस्या देखिएको छ भने इन्टरनेट सेवा अवरुद्ध हुँदा विद्यार्थी, व्यवसायी र सेवाग्राही सबै प्रभावित भएका छन्।
बारम्बारको विद्युत अवरोधले स्थानीय व्यवसायसमेत संकटमा परेको छ। होटल, रेष्टुरेन्ट, साइबर, फोटो स्टुडियो, मोबाइल मर्मत केन्द्र, डेरी उद्योग, वेल्डिङ पसल, फर्निचर उद्योग, प्रेस, कुखुरा फार्म, पानी उद्योग तथा कोल्ड स्टोर सञ्चालन गर्ने व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्। स्थानीय व्यवसायी शम्भु खड्काका अनुसार एक घण्टामा सम्पन्न हुने कामसमेत तीन–तीन दिनसम्म लम्बिने अवस्था सिर्जना भएको छ। मेसिन चलाउन नपाउँदै लाइन जाने भएकाले ग्राहकहरू निराश भएर फर्किने गरेका छन्।
विद्युत आपूर्ति अनियमित हुँदा फ्रिजमा राखिएका पेयपदार्थ बिग्रिने, दूध फाट्ने, आइसक्रिम पग्लिने तथा कोल्ड स्टोरमा राखिएका सामग्री नष्ट हुने समस्या बढेको व्यवसायीहरूको भनाइ छ। साइबर तथा अनलाइन सेवा केन्द्र सञ्चालन गर्नेहरू पनि उत्तिकै समस्यामा छन्। इन्टरनेट र कम्प्युटरमा आधारित सेवा दिने व्यवसाय घण्टौं बन्द हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ भने व्यवसायीहरूको आम्दानीमा समेत प्रत्यक्ष असर परेको छ।
यसको असर व्यवसायमा मात्र सीमित छैन। परीक्षा नजिकिँदै गरेका विद्यार्थीहरू नियमित अध्ययन गर्न नपाएको गुनासो गर्छन्। रातिको समयमा पटकपटक विद्युत अवरुद्ध हुँदा पढाइ प्रभावित भएको उनीहरू बताउँछन्। यता गर्मीका कारण वृद्धवृद्धा, बालबालिका तथा बिरामीहरू थप समस्यामा परेका छन्। कतिपय घरमा प्रयोग भइरहेका इनभर्टर र ब्याट्रीसमेत लगातार चार्ज–डिस्चार्जका कारण बिग्रिन थालेका छन्। स्थानीयहरूले लाखौं रुपैयाँ मूल्यका विद्युतीय उपकरणमा क्षति पुग्ने जोखिम बढेको बताएका छन्।
विद्युत आपूर्ति अवरुद्ध भएको विषयमा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख बुद्धिनाथ झासँग सम्पर्क गर्दा प्रायः “बुस कटिङ” भइरहेको भन्ने जवाफ आउने गरेको स्थानीयहरूको आरोप छ। तर नागरिकहरू भने यस जवाफबाट सन्तुष्ट छैनन्। उनीहरू दिनहुँ र दिनभरि बुस कटिङकै नाममा लाइन काटिनु स्वाभाविक हुन नसक्ने बताउँछन्। यदि मर्मत, सरसफाइ वा प्राविधिक सुधारको काम भइरहेको हो भने त्यसबारे पूर्वसूचना दिनुपर्ने, निश्चित समय तालिका सार्वजनिक गर्नुपर्ने र काम सकेपछि नियमित विद्युत आपूर्ति सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।
स्थानीयवासीहरूका अनुसार समस्या केवल प्राविधिक नभई व्यवस्थापकीय कमजोरीसँग पनि जोडिएको हुन सक्ने आशंका बढ्दै गएको छ। नागरिकहरूले पटकपटक गुनासो गर्दा पनि समाधानतर्फ ठोस पहल नदेखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरू विद्युत प्राधिकरणले महसुल उठाउने विषयमा कडाइ गर्ने तर गुणस्तरीय सेवा दिन नसक्ने प्रवृत्तिप्रति प्रश्न उठाइरहेका छन्।
चन्द्रनिगाहपुरमा बढ्दो गर्मीसँगै बिजुलीको समस्या पनि झन् जटिल बन्दै गइरहेको छ। नागरिकहरू अब तत्काल समस्या समाधान, विद्युत अवरोधको वास्तविक कारण सार्वजनिक गर्न र जिम्मेवार निकायलाई जवाफदेही बनाउन माग गरिरहेका छन्। अन्यथा जनआक्रोश सडकमा पोखिन सक्ने र आन्दोलनको स्वरूप लिन सक्ने चेतावनीसमेत स्थानीयवासीले दिन थालेका छन्। उनका अनुसार नियमित महसुल तिरेर पनि आधारभूत सेवा नपाउनु राज्यको सेवा प्रणालीमाथिकै गम्भीर प्रश्न हो। अहिले चन्द्रनिगाहपुरवासीको एउटै प्रश्न छ “यो वास्तवमै बुस कटिङ हो कि लोडसेडिङको नयाँ संस्करण ?”



