रास्वपाबाट वीरगञ्ज महानगरको मेयरमा प्रबेज अख्तर उम्मेदवार बन्ने चर्चा तीव्र

रास्वपाबाट वीरगञ्ज महानगरको मेयरमा प्रबेज अख्तर उम्मेदवार बन्ने चर्चा तीव्र

वीरगञ्ज । आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि विभिन्न राजनीतिक दलभित्र उम्मेदवारबारे चर्चा सुरु भएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा नेता प्रबेज अख्तर मेयर पदका बलिया आकांक्षीका रूपमा चर्चामा आएका छन्।

रास्वपा पर्साका संस्थापक सदस्यहरूमध्ये एक मानिने अख्तर पार्टी स्थापना कालदेखि नै सक्रिय रूपमा संगठन निर्माण र विस्तारमा लाग्दै आएका नेता हुन्। उनी रास्वपा पर्साका संस्थापक तथा प्रतिनिधिसभा सदस्य हरि पन्तका निकटका रूपमा समेत परिचित छन्। पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा विभिन्न सामाजिक गतिविधिमा उनको सक्रिय भूमिका रहँदै आएको बताइन्छ।

पार्टीभित्रका स्रोतहरूका अनुसार आगामी स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि रास्वपाबाट प्रबेज अख्तरले टिकट पाउने सम्भावना बलियो रहेको चर्चा चलिरहेको छ। यद्यपि पार्टीले हालसम्म आधिकारिक रूपमा उम्मेदवारको घोषणा भने गरिसकेको छैन।

वीरगञ्जका युवा तथा सामाजिक क्षेत्रमा सक्रिय अख्तरले महानगरको समग्र विकास, सुशासन, पारदर्शिता तथा प्रभावकारी सेवाप्रवाहलाई आफ्नो प्राथमिकतामा राख्दै उम्मेदवारीको तयारी गरिरहेका छन्। महानगरभित्र सडक, सरसफाइ, खानेपानी, ट्राफिक व्यवस्थापन, सार्वजनिक सेवा तथा शहरी पूर्वाधारका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न स्पष्ट योजना आवश्यक रहेको उनको धारणा छ।

वीरगञ्ज देशको प्रमुख औद्योगिक, व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा चिनिए पनि नागरिकहरूले आधारभूत शहरी सेवासम्बन्धी विभिन्न चुनौतीहरू भोग्दै आएका छन्। यही अवस्थालाई परिवर्तन गर्न नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको भन्दै अख्तरले आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गर्न खोजेको निकटस्थहरूको भनाइ छ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ। संघीय निर्वाचनमा प्राप्त सफलतापछि स्थानीय तहमा पनि पार्टीले आफ्नो उपस्थिति मजबुत बनाउने रणनीति अघि सारेको देखिन्छ। वीरगञ्जजस्तो महत्वपूर्ण महानगरमा रास्वपाको सम्भावित उम्मेदवारीलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार परम्परागत राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको आकर्षणका कारण आगामी स्थानीय निर्वाचनमा वैकल्पिक शक्तिहरूले उल्लेखनीय प्रभाव पार्न सक्ने सम्भावना रहेको छ। यस्तो अवस्थामा प्रभेज अख्तरको सम्भावित उम्मेदवारीले वीरगञ्जको राजनीतिक माहोललाई थप रोचक बनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close