गृहमन्त्रीकै अगाडि स्थानीयको खुलासा— “सुरक्षाकर्मीको मिलेमतोमै तस्करी, तपाईं फर्किएपछि मोटरसाइकल भित्रिन्छ!”

गृहमन्त्रीकै अगाडि स्थानीयको खुलासा— "सुरक्षाकर्मीको मिलेमतोमै तस्करी, तपाईं फर्किएपछि मोटरसाइकल भित्रिन्छ!"

पर्साको वीरगञ्ज महानगरपालिका–सिर्सिया नाकामा पूर्वजानकारीबिनै छड्के अनुगमनमा पुगेका गृहमन्त्री सुदन गुरुङ समक्ष स्थानीयले सीमा क्षेत्रमा खुलेआम भइरहेको तस्करी र सुरक्षाकर्मीको कथित मिलेमतोबारे गम्भीर आरोप लगाएका छन्।

स्थानीय सुरेन्द्र साह ले गृहमन्त्रीलाई भारततर्फ चारवटा मोटरसाइकलमा तस्करीको सामान लोड गरेर राखिएको र “तपाईंहरू फर्किएपछि ती मोटरसाइकल नेपाल प्रवेश गर्छन्” भन्दै प्रत्यक्ष गुनासो गरेका थिए। गुनासो सुनेपछि गृहमन्त्रीले तत्काल एक जनालाई भारततर्फ गएर वास्तविक अवस्था बुझ्न निर्देशन दिएको भिडियो सार्वजनिक भएको छ।

त्यसैगरी अर्का स्थानीय मुकेश साह ले नाकामा जडान गरिएको सिसिटिभी क्यामेराकै आडमा सशस्त्र प्रहरीका डिएसपीको संरक्षणमा तस्करी हुने गरेको आरोप लगाउँदै गृहमन्त्रीलाई क्यामेरा र पोल देखाएका थिए। त्यसपछि गृहमन्त्रीले “सिसिटिभीको निगरानी कहाँबाट हुन्छ?” भनेर प्रश्न गर्दा स्थानीयले “सशस्त्र प्रहरीको क्याम्पबाट” भन्ने जवाफ दिएका थिए।

स्थानीयका अनुसार सिर्सिया नाकाबाट महिनावारी रकम बुझाएर भारतबाट अवैध रूपमा मालसामान भित्र्याउने काम भइरहेको छ। यदि यी आरोप सत्य सावित भए, यो केवल तस्करीको विषय मात्र नभई राज्यको सुरक्षा संयन्त्रकै विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्ने अवस्था हो।

कालो टोपी, मास्क, चस्मा र साधारण हाफ टिसर्टमा पुगेका गृहमन्त्रीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सीमाक्षेत्रको वास्तविक अवस्था बुझ्ने प्रयास गरेका थिए। यो छड्के अनुगमनबारे बारा–पर्साका सुरक्षा अधिकारीहरूलाई समेत पूर्वजानकारी नभएको बताइएको छ।

अब मुख्य प्रश्न उठेको छ स्थानीयले गृहमन्त्रीकै अगाडि लगाएका यस्ता गम्भीर आरोपमाथि निष्पक्ष छानबिन हुन्छ कि फेरि पनि फाइलमै सीमित रहन्छ? दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभ्याइन्छ कि उन्मुक्ति दिइन्छ?

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close