
वीरगञ्ज । पर्साको गण्डक प्रहरी चौकीमा कार्यरत घुमुवा प्रहरी सहायक हवल्दार पिन्टु सिंहमाथि सर्वसाधारण, सवारी चालक तथा व्यापारीसँग खुल्लमखुल्ला अवैध रकम असुल्ने गरेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार गण्डक क्षेत्र तथा आसपासका स्थानमा प्रहरीको नाममा हुने चेकजाँचलाई आयआर्जनको माध्यम बनाइएको भन्दै व्यापक गुनासो बढ्दै गएको छ।
स्थानीयका अनुसार गण्डक चोकमा विभिन्न बहानामा सवारीसाधन रोकी प्रतिगाडी १०० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म रकम असुल्ने गरिएको आरोप छ। रकम नदिने सवारी चालकलाई अनावश्यक दुःख दिने, लामो समयसम्म रोकेर राख्ने तथा कागजातमा अनावश्यक त्रुटि खोज्ने जस्ता व्यवहार हुने गरेको उनीहरूको भनाइ छ।
यस्तै, पर्सा र बाराका विभिन्न सीमावर्ती नाकाबाट अवैध रूपमा भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म पुग्ने क्रममा बीच बाटोमै नियन्त्रणमा लिएर रकम लिएपछि छाड्ने गरिएको स्रोतको दाबी छ। यसले तस्करी नियन्त्रणमा प्रहरीको भूमिका नै प्रश्नको घेरामा परेको स्थानीयको आरोप छ।
स्रोतका अनुसार गण्डक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनिष सिंहले आर्थिक कारोबार व्यवस्थापनका लागि प्रहरी सहायक हवल्दार पिन्टु सिंहलाई घुमुवाका रूपमा परिचालन गरेको आरोप पनि लगाइएको छ।
भारतसँग जोडिएका छपकैया, अलौ, अमरपाटी, प्रसौनी भाठा, सबैठवा, भिस्वा, जनकिटोला तथा बाराको मुसहर्वा र बलिरामपुरलगायतका नाकाबाट सामान ल्याउने व्यापारीहरूबाट मासिक १० हजारदेखि ५० हजार रुपैयाँसम्म रकम असुलिने गरेको एक व्यापारीले नाम नछाप्ने सर्तमा बताएका छन्।
स्थानीय स्रोतहरूका अनुसार ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, चकलेट, बटर, चिनी कारोबारी तथा गोदाम सञ्चालकहरूसमेत नियमित रूपमा रकम बुझाउन बाध्य रहेको आरोप छ।
नाम गोप्य राख्ने सर्तमा एक व्यापारीले भने, “व्यापार गर्नै कठिन भइसकेको छ। मासिक रकम नदिए ढुवानी रोक्ने, चेकजाँचका नाममा हैरानी दिने र विभिन्न बहानामा दुःख दिने काम भइरहेको छ। डरकै कारण धेरै व्यवसायी खुलेर बोल्न सकिरहेका छैनन्।”
व्यापारीहरूका अनुसार रकम नबुझाउनेहरूलाई सवारी नियन्त्रण गर्ने, मालसामान रोक्ने, प्रशासनिक दबाब सिर्जना गर्ने तथा पटक–पटक अनावश्यक जाँचका नाममा प्रताडित गरिने गरिएको छ। यसबाट साना तथा मझौला व्यवसायी सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीयको भनाइमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीका केही कर्मचारी नै आर्थिक प्रलोभनमा परेर तस्करी नियन्त्रण गर्नुको सट्टा तस्कर समूहसँग मिलेमतो गर्ने प्रवृत्ति बढ्दा सीमावर्ती क्षेत्रमा अवैध कारोबार मौलाएको छ।
गण्डक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पिन्टु सिंहमाथि यस्ता गम्भीर आरोप लागिरहँदा पनि कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मनिष सिंह मौन बसेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। ठूला तस्कर, उद्योग तथा कलकारखानाबाट उठाइएको मासिक रकम कार्यालय प्रमुखसम्म पुग्ने गरेको आरोपसमेत स्रोतहरूले लगाएका छन्।
यद्यपि, यी आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ। आरोपित प्रहरी अधिकारीहरूको आधिकारिक प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्सा, मधेश प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रधान कार्यालयले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी प्रमाणित भए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।



