खुटवामा हरियालीसँगै समृद्धिको सन्देश: नयाँ कदम नेपालद्वारा ५०० भन्दा बढी बिरुवा निःशुल्क वितरण

खुटवामा हरियालीसँगै समृद्धिको सन्देश: नयाँ कदम नेपालद्वारा ५०० भन्दा बढी बिरुवा निःशुल्क वितरण

बारा, साउन ४ — बारा जिल्लाको प्रसौनी गाउँपालिका–४ खुटवामा नयाँ कदम नेपालले हरियाली प्रवर्द्धनसँगै स्थानीयको आयआर्जन बढाउने उद्देश्यले ५०० भन्दा बढी बिरुवा निःशुल्क वितरण गरेको छ।

डिभिजन वन कार्यालय बाराको सहयोग तथा चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको समन्वयमा सोमबार आयोजित कार्यक्रममा तेजपत्ता, कल्की, बडहर, निम, अमला लगायत विभिन्न प्रजातिका बिरुवा स्थानीयलाई वितरण गरिएको हो।

संस्थाका अनुसार वातावरण संरक्षणलाई समुदायको आर्थिक विकाससँग जोड्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको हो। विशेषगरी तेजपत्ताको व्यावसायिक खेतीमार्फत स्थानीयको आम्दानी वृद्धि गर्ने योजनालाई प्राथमिकता दिइएको छ।

कार्यक्रमको अध्यक्षता नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाकी सचिव अनुराधा अधिकारीले तेजपत्ता खेतीलाई स्थानीयका लागि दीर्घकालीन आयआर्जनको भरपर्दो माध्यमका रूपमा विकास गर्न सकिने बताउँदै घरायसी मसलामा आत्मनिर्भर बन्न र उत्पादनको बजारीकरणमार्फत आर्थिक अवस्था सुधार गर्न सकिने धारणा राख्नुभयो।

समापन समारोहमा अध्यक्ष पाण्डेले वातावरण संरक्षण र आर्थिक सशक्तीकरणलाई एकसाथ अघि बढाउने अभियानलाई आगामी दिनमा अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वृक्षारोपणलाई अभियानका रूपमा विस्तार गर्दै हरियाली, आत्मनिर्भरता र समृद्ध समुदाय निर्माणका लागि सबैको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close