माहामारी रोक्न थारु समुदायले मनाए ‘अखारी पर्व’

 

काठमाडौं- असारको पहिलो दिन अर्थात १ गते थारु समुदायले प्रकृतिको पूजा गरी ‘अखारी पर्व’ मनाएका छन्। ‘राजाजी मन्दिर’को थानमा दियो बत्ति बालेर थारु गाउँमा पूजा अर्चना गरी यो पर्व मनाइएको हो।

वर्षायाम सुरु भएसँगै प्राकृतिक जोखिम र विपदबाट अप्रिय घटनाहरु नघटोस् भनी असारको पहिलो दिन गाँउका सबैजनाले मिली ग्राम थानमा (मन्दिरमा) गइ सामूहिक रुपमा दियो बत्ति बाल्ने परम्परागत संस्कार रहेको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन्। उनी भन्छन्, ‘थारुहरु प्रकृति पूजक भएकाले प्रत्‍येक ऋतु र याम अनुसार उनीहरुले प्रकृतिको पुजा आराधना परापूर्वकालदेखि नै गर्दै आएका छन्। असार वर्षायामको सुरुवात भएकाले प्रकृतिको पूजा गर्न थारु गाउँ-गाउँमा गर्ने गर्छन् स्वास्थ्य र दीर्घायू एवं बीऊ रोप्ने सरुवातको लागि।’

यसका साथै उनले अखारी पुजा नगरी खेतबारीमा समेत ‘गव लिने’ अर्थात धान रोप्ने चलन नरहेकाले यो पर्व परापूर्वकालदेखि नै थारु समुदयले मनाउँदै आएको बताउँछन्। उनी भन्छन्, ‘ असार लागेसँगै अब वर्षाऋतु सुरुभयो। वर्षासँगै विषालु किरा-फट्याङ्ग्राको बिगबिगी हुन्छ। यसबाट बच्नका लागि पुजा आराधना गरिन्छ। त्यतिमात्रै नभइ महामारी रोग, खेतीपतिमा कुनै प्राकृतिक प्रकोप नहोस भनी पुजा गर्ने चलन रहेको छ।’

यस्तै आजकै दिन थारु समुदायमा ग्वाही अर्थात गाईगोठमा रहेको मुख्य खम्बा दुबोसहितको माटो राख्ने चलन रहेको छ। यसले गाईवस्तुमा कुनै किसिमको रोग व्‍याधी, महामारी नआओस्, सबै गाउँ-घर समाजको कल्याण होस भन्ने मान्यता रहेको छ।

अखारी पुजा गर्दा विशेषगरी खीर, लड्डु, आँप, कटहर जस्ता फलफूल चढाएर पूजा आराधना गर्ने गरिन्छ। पूजा आरधनासँगै दिनभरी काम गरेर थाकेपछि थकान मेटाउन बेलुका ग्रामथानमा सबैजना भेला भइ थारु जातिको मौलिक एवं धार्मिक गीत वाद्यवादनको तालमा बाजा बजाएर गाउने चलन छ।

यसपछि अन्त्यमा सबैजना सामूहिक रुपमा अखारी पूजाको प्रसाद ग्रहण गर्ने चलन रही आएको छ।deshsanchar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close