ऐतिहासिक तस्बिरको संरक्षण राष्ट्रको दायित्व : अध्यक्ष हरिप्रसाद रेग्मी

ऐतिहासिक तस्बिरको संरक्षण राष्ट्रको दायित्व : अध्यक्ष हरिप्रसाद रेग्मी

राहुल गुप्ता
नेपालमा फोटो पत्रकारिताको ऐतिहासिक विरासत संरक्षण, पर्यटन प्रवर्द्धन तथा भावी पुस्तालाई देशको सामाजिक, सांस्कृतिक र ऐतिहासिक दस्तावेजसँग जोड्ने उद्देश्यले “नेपाल फोटो संग्रहालय तथा पर्यटन प्रवर्द्धन केन्द्र” निर्माण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फोटो पत्रकार, सञ्चारकर्मी, पर्यटन क्षेत्रका विज्ञ, सांस्कृतिक व्यक्तित्व तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नेपालमा फोटो पत्रकारिताको इतिहासलाई व्यवस्थित रूपमा संरक्षण गर्न फोटो संग्रहालयको आवश्यकता औंल्याउँदै यसले पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। नेपालका विभिन्न कालखण्डका ऐतिहासिक तस्बिर, प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, सामाजिक रूपान्तरण तथा राष्ट्रिय महत्वका घटनालाई एकै स्थानमा संग्रहित गरी अध्ययन, अनुसन्धान र अवलोकनका लागि खुला गरिने अवधारणाले कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।

कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद रेग्मीले फोटो संग्रहालय केवल तस्बिर राख्ने स्थान मात्र नभई नेपालको इतिहास, संस्कृति, संघर्ष, उपलब्धि र परिवर्तनका अमूल्य क्षणहरूको जीवित अभिलेख हुने बताउनुभयो। उहाँले फोटो पत्रकारहरूले आफ्नो जीवनभर खिचेका ऐतिहासिक तस्बिरहरू राष्ट्रको सम्पत्ति भएकाले तिनको संरक्षण आजको आवश्यकता रहेको उल्लेख गर्दै फोटो संग्रहालय निर्माणले नयाँ पुस्तालाई इतिहाससँग जोड्ने, अनुसन्धानलाई टेवा पुर्‍याउने तथा आन्तरिक एवं बाह्य पर्यटनलाई नयाँ आयाम दिने विश्वास व्यक्त गर्नुभयो। सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी तथा सञ्चार क्षेत्रबीच सहकार्य गरी यो परियोजना सफल बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो।

सहभागीहरूले फोटो संग्रहालय तथा पर्यटन प्रवर्द्धन केन्द्रलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा अघि बढाउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए। यस केन्द्रको निर्माणपछि नेपालका दुर्लभ तस्बिरहरूको दीर्घकालीन संरक्षण हुनुका साथै देशको कला, संस्कृति, सम्पदा र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा उठेका सुझाव र धारणा सम्बन्धित निकायसम्म पुर्‍याई परियोजनालाई मूर्त रूप दिन आवश्यक समन्वय र पहल अगाडि बढाइने आयोजकले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close