
बेबी चक्रवर्ती : प्रख्यात साहित्यकार शरतचन्द्र चट्टोपाध्यायको ऐतिहासिक निवास पुग्न रेलमार्गबाट जानेहरूले देउल्टी स्टेशनमा ओर्लिएर समताबेर जानुपर्छ। शरतचन्द्रले आफ्नो जीवनका अन्तिम १२ वर्ष यहीँ बिताएका थिए। यस अवधिमा उनले रामेर सुमति, पल्ली समाज लगायतका कालजयी कृतिहरू सिर्जना गरेका थिए।
हाल उक्त निवास सरकारले पर्यटकीय स्थलका रूपमा घोषणा गरिसकेको छ। त्यसैले देश–विदेशबाट कवि, साहित्यकार, विद्यार्थी तथा सर्वसाधारण त्यहाँ भ्रमणका लागि पुग्ने गर्छन्।
यही कारणले विगत पाँच वर्षदेखि शरतचन्द्रका परिवारजन तथा शुभेच्छुकहरूले देउल्टी रेल स्टेशनको नाम परिवर्तन गरी ‘शरतचन्द्र चट्टोपाध्याय स्टेशन’ राख्न निरन्तर माग गर्दै आएका छन्। यसका लागि पटक–पटक ज्ञापनपत्र बुझाउनेदेखि सडक अवरोधसम्मका आन्दोलन भए पनि सम्बन्धित निकायले अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन।
अहिले शरतचन्द्रको १५०औँ जन्मजयन्ती नजिकिँदै गर्दा सो अवसरअघि नै स्टेशनको नाम परिवर्तनको घोषणा गर्न सम्बन्धित निकायसँग पुनः आग्रह गरिएको छ।
समितिका सचिव चन्द्रनाथ बसुले माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्। आवश्यकता परे रेलमार्गमै धर्ना बसेर कविता वाचन गर्दै विरोध जनाइने उनले बताए। गत वर्ष पनि यस सम्बन्धमा डिभिजनल रेलवे म्यानेजर (डीआरएम) समक्ष ज्ञापनपत्र बुझाइएको स्मरण गराउँदै उनले यसपटक मागप्रति सकारात्मक निर्णय हुने अपेक्षा व्यक्त गरे।
शरतचन्द्र चट्टोपाध्यायको १५०औँ जन्मजयन्ती आगामी सेप्टेम्बर १५ मा उनको समताबेरस्थित निवासमा विशेष कार्यक्रमका साथ मनाइनेछ। उक्त समारोहमा पाँच विभिन्न देशका कवि तथा साहित्यकारहरूको सहभागिता रहने जनाइएको छ।



