
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा केही समयदेखि देखिएको कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतबीचको असमझदारी अन्त्य गर्ने उद्देश्यले भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ। कार्यवाहक मेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहरा, कर्मचारी संगठनका अध्यक्ष मुकेश गुप्ता तथा विभिन्न शाखाका प्रमुखहरूबीच भएको बैठकमा आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सहमति भएको हो।
बैठकमा महानगरभित्र देखिएका प्रशासनिक असमझदारी अन्त्य गर्दै जनप्रतिनिधि, प्रशासन र कर्मचारीबीच विश्वासको वातावरण निर्माण गर्ने, निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा नागरिकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा सबै पक्ष प्रतिबद्ध रहेको जनाइएको छ।
यसअघि कार्यवाहक मेयर इम्तियाज आलमलाई असफल देखाउने उद्देश्यले केही कर्मचारीले संगठित रूपमा असहयोग गरेको आरोप सार्वजनिक भएको थियो। महानगर स्रोतका अनुसार प्रशासनिक निर्णय कार्यान्वयनमा ढिलाइ गर्ने, आवश्यक फाइल रोक्ने, निर्देशनको पालना नगर्ने तथा विभिन्न बहानामा कार्यसम्पादन प्रभावित पार्ने गतिविधिका कारण सेवा प्रवाहमा असर परेको दाबी गरिएको थियो।
स्रोतका अनुसार पूर्व मेयरको कार्यकालदेखि लामो समयसम्म रोकिएको कर्मचारीहरूको तलब निकासाको प्रक्रिया कार्यवाहक मेयर आलमको कार्यकालमा अघि बढाइएपछि अधिकांश कर्मचारीले तलब प्राप्त गरेका थिए। त्यसपछि पनि केही कर्मचारीबाट अपेक्षित सहयोग नपाएको गुनासो रहँदै आएको थियो।
यद्यपि पछिल्लो छलफलले सबै पक्षबीचको दूरी घटाउँदै सहकार्य र समन्वयको वातावरण निर्माण गरेको जनाइएको छ। महानगरको दैनिक सेवा प्रवाह, विकास निर्माणका काम तथा नागरिकले पाउने सेवामा कुनै अवरोध आउन नदिन जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी संगठन र कर्मचारीहरू सबैले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



