सडक विस्तारसँगै वीरगञ्जमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने अभियान तीव्र

सडक विस्तारसँगै वीरगञ्जमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने अभियान तीव्र

वीरगञ्ज । सडक विस्तारका क्रममा वीरगञ्ज महानगरपालिकाभित्र देखिएका खाल्डाखुल्डी पुर्ने तथा अव्यवस्थित र काम नलाग्ने बिजुलीका तार व्यवस्थापन गर्ने कामलाई महानगरपालिकाले तीव्रता दिएको छ।

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा नगर क्षेत्रका बिग्रिएका सडक मर्मत तथा अव्यवस्थित तार हटाउने अभियान सञ्चालन गरिएको हो।

विशेषगरी मुख्य बजार क्षेत्रमा सडक विस्तारका क्रममा डोजरको निरन्तर प्रयोग हुँदा सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी बनेका थिए। त्यस्तै, सडक विस्तारका क्रममा केही विद्युत् तथा सञ्चारका तार चुँडिनुका साथै पोलमा काम नलाग्ने र अलपत्र तारहरू झुण्डिएका कारण पैदलयात्री तथा सवारीचालकलाई आवागमनमा समस्या हुँदै आएको थियो।

सर्वसाधारणले भोग्दै आएको असुविधालाई ध्यानमा राख्दै महानगरपालिकाले तत्काल समाधानका लागि खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने विशेष अभियान सञ्चालन गरेको हो।

सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीका अनुसार सडकमा रहेका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने तथा विद्युत् पोलमा टाँगिएका काम नलाग्ने र अलपत्र तारहरू हटाउने काम भइरहेको छ। नगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने उद्देश्यले अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

महानगरपालिकाको सक्रियतासँगै मुख्य बजार क्षेत्रको यातायात आवागमन सहज हुने, पैदलयात्रीलाई समेत राहत पुग्ने तथा सडक दुर्घटनाको सम्भावित जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close