क्यासिनोबाट सखुवा प्रसौनीका गाउँपालिका अध्यक्ष यादव पक्राउ

क्यासिनोबाट सखुवा प्रसौनीका गाउँपालिका अध्यक्ष यादव पक्राउ

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडी प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्।

गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोमा गाउँपालिका अध्यक्ष यादव रहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको सरकारी सवारीसाधन ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको जनाएको छ।

सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले यादवलाई गाडीसमेत नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुरमा ल्याएको बताइएको छ।

प्रहरीले यादवले सरकारी सवारीसाधन क्यासिनो पुग्न प्रयोग गरेको विषय, क्यासिनोमा उनको उपस्थितिको उद्देश्य तथा घटनासँग जोडिएका अन्य विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

जनताको सेवाका लागि प्रयोग हुनुपर्ने सरकारी सवारीसाधन क्यासिनो परिसरमा भेटिएपछि गाउँपालिका अध्यक्ष यादवको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। सार्वजनिक पदमा रहेका जनप्रतिनिधिको यस्तो गतिविधिले सरकारी स्रोत–साधनको दुरुपयोग भएको हो कि होइन भन्ने विषयमा समेत चासो बढेको छ।

घटनाबारे प्रहरीको अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुने बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close