कांग्रेस महाधिवेशनमा मौसमको असर, क्षेत्रीय अधिवेशन असोज १३ भित्र सक्न निर्देशन

कांग्रेस महाधिवेशनमा मौसमको असर, क्षेत्रीय अधिवेशन असोज १३ भित्र सक्न निर्देशन

काठमाडौं । अविरल वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, पछिल्ला दिनमा देशभर भइरहेको निरन्तर वर्षा तथा त्यसबाट उत्पन्न आवागमनको समस्याका कारण तोकिएको मितिमा अधिवेशन सञ्चालन गर्न कठिनाइ देखिएको हो ।

कांग्रेसले महाधिवेशनको प्रारम्भिक चरणअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ । असोज ७ गते गाउँ/नगर अधिवेशन गर्ने कार्यतालिका रहेको थियो । त्यसपछि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तयारी गरिएको थियो ।

तर, असोज ८ गतेदेखि निरन्तर भइरहेको वर्षाका कारण क्षेत्रीय प्रतिनिधिहरूलाई अधिवेशनस्थलसम्म पुग्न समस्या हुने अवस्था सिर्जना भएपछि विभिन्न जिल्लामा अधिवेशनको मिति पुनर्विचार गर्न थालिएको छ ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा असोज १० गतेका लागि तय भएको क्षेत्रीय अधिवेशन असोज १४ गते गर्ने तयारी गरिएको छ ।

इलाम क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य हिमालय कर्मचार्यले जिल्लाको क्षेत्रीय अधिवेशन असोज १४ गते गर्ने तयारी भएको जानकारी दिए ।

‘इलाम जिल्लाको क्षेत्रीय अधिवेशन असोज १४ गते बुधबार गर्ने तयारी भयो,’ उनले भने ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा भने नयाँ मितिबारे टुंगो लागिसकेको छैन । अविरल वर्षाका कारण क्षेत्रीय प्रतिनिधिहरू सदरमुकामसम्म आउन सक्ने अवस्था नरहेको निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।

‘भोलि नै अधिवेशन सम्भव छैन । क्षेत्रीय प्रतिनिधि सदरमुकाम आउन सक्ने अवस्था पनि छैन,’ खतिवडाले भने, ‘कहिले गर्ने भनेर हामी छलफलमै छौँ ।’

मौसम हेरेर अनुकूल मितिमा अधिवेशन गर्न निर्देशन

क्षेत्रीय अधिवेशन प्रभावित हुन थालेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृतहरूमार्फत विभिन्न जिल्लाको अवस्थाबारे जानकारी लिएको छ ।

समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेका कारण अधिवेशन प्रक्रिया सञ्चालनमा कठिनाइ भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ ।

थप केही दिन वर्षा कायम रहने भन्दै मौसम विभागलगायत सम्बन्धित निकायले सतर्क रहन सूचना जारी गरेको अवस्थालाई समेत ध्यानमा राख्दै समितिले असोज १० गतेका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थानीय मौसमको अवस्था हेरेर अनुकूल मितिमा गर्न निर्देशन दिएको छ ।

यद्यपि, नयाँ मितिमा सारिएको अधिवेशन असोज १३ गतेभित्र सम्पन्न गरिसक्न निर्वाचन समितिले निर्देशन दिएको छ ।

निर्वाचन समितिका अनुसार हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ । १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको र गाउँ/नगर अधिवेशन सम्पन्न हुने क्रम जारी रहेको समितिले जनाएको छ ।

अछाममा पनि कार्यतालिका पुनरावलोकनको तयारी

केन्द्रीय निर्वाचन समितिको परिपत्रअनुसार अछाममा पनि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी भइरहेको छ । तर, प्रतिकूल मौसमका कारण अधिवेशनको मिति र निर्वाचन कार्यक्रम कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला नेतृत्वसँग छलफल भइरहेको छ ।

अधिवेशन गराउन अछाम पुगेका निर्वाचन अधिकृत अधिवक्ता भोविन्द्र (भूपेन्द्र) शाह ठकुरीले मनोनयनलगायतका प्रारम्भिक कार्यक्रम तत्काल परिवर्तन नगरी मौसमको अवस्था हेरेर अन्तिम कार्यतालिका तय गर्ने तयारी भइरहेको बताए ।

‘भोलि हुने अधिवेशनका लागि मनोनयनको कार्यक्रम तलमाथि नगर्ने सोचमा छु । जिल्ला तथा सम्बन्धित साथीहरूसँग छलफलमा छु,’ उनले भने, ‘आज साँझसम्म कार्यतालिका निकाल्छु । वर्षाको अवस्था के हुन्छ, त्यसअनुसार निर्वाचन कार्यतालिका निकाल्ने तयारी गरिरहेको छु ।’

कांग्रेसको महाधिवेशन प्रक्रियामा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनलाई महत्वपूर्ण चरणका रूपमा लिइन्छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रदेश महाधिवेशन प्रतिनिधि चयन हुन्छन् भने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् ।

कांग्रेसको विधानअनुसार प्रदेश महाधिवेशन प्रतिनिधिले सम्बन्धित प्रदेशमा नेतृत्व चयन प्रक्रियामा मतदान गर्न पाउँछन् । त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिले पार्टीको विभिन्न तहको नेतृत्व चयन प्रक्रियामा सहभागी हुने अधिकार राख्छन् ।

यिनै प्रतिनिधिमध्येबाट महासमिति सदस्य चयन हुने तथा पार्टीको केन्द्रीय कार्यसमिति, पदाधिकारी र सभापतिसम्मको निर्वाचन प्रक्रियामा सहभागी हुने बाटो खुल्ने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई महाधिवेशन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा लिइन्छ ।

यसरी असोज १० गतेका लागि तय भएको क्षेत्रीय अधिवेशनमा परेको मौसमको असरले कांग्रेसको आगामी महाधिवेशन कार्यतालिकामै समेत प्रभाव पार्न सक्ने देखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close