चोरीका ५९ थान मोबाइलसहित ५ जना पक्राउ, वीरगञ्जकी टिकटक कलाकार दीपमाला पटेल पनि प्रहरी नियन्त्रणमा

वीरगञ्जकी दीपमालासहित सीमावर्ती क्षेत्रका पाँच जना पक्राउ, चोरी तथा अवैध ओसारपसारमा संलग्न रहेको आशंकामा अनुसन्धान जारी

वीरगञ्ज । भारतीय प्रहरीले चोरीका ५९ थान बहुमूल्य मोबाइलसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालको पर्सा जिल्लाकी स्थायी बासिन्दा तथा हाल वीरगञ्जमा बस्दै आएकी टिकटक कलाकार एवं नृत्यांगना दीपमाला पटेल पनि रहेको बताइएको छ।

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लाको मेहसी थाना प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। भारतीय नम्बर प्लेटको BR 05 PQ 4338 नम्बरको सवारीसाधन रोकेर खानतलासी गर्दा गाडीभित्र लुकाएर राखिएका विभिन्न ब्रान्डका ५९ थान मोबाइल बरामद भएपछि गाडीमा सवार पाँचै जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा बिहारको रामगढवा थाना क्षेत्रका रामप्रवेश कुमार, रक्सौलका नवनित सिंह, घोडासहनका साहेब कुमार र सिक्टाकी लक्ष्मी कुमारी रहेका छन्।

प्राप्त विवरणअनुसार दीपमाला पटेल पर्सा जिल्लाको चिकनी स्थायी घर भई हाल वीरगञ्जमा डेरा गरी बस्दै आएकी छन्। उनी सामाजिक सञ्जाल टिकटकमा सक्रिय रहनुका साथै नृत्य प्रस्तुतिका कारण पनि परिचित रहेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू सीमावर्ती क्षेत्रमा मोबाइल चोरी तथा अवैध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ। बरामद मोबाइलको स्रोत, चोरी भएको स्थान तथा घटनामा अन्य व्यक्तिहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ।

भारतीय प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग थप सोधपुछ भइरहेको छ। घटनामा संलग्न हुन सक्ने अन्य व्यक्ति तथा सम्भावित योजनाकारको पहिचान गर्नसमेत अनुसन्धान भइरहेको बताइएको छ।

सीमावर्ती क्षेत्रमा चोरीका सामानको ओसारपसार तथा संगठित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र जाँचलाई कडा बनाएको जनाइएको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close