
रक्सौल।
भारत–नेपाल मैत्री पुलको दुवैतर्फ ई–रिक्साको अव्यवस्थित पार्किङका कारण आवागमनमा समस्या उत्पन्न भएपछि यसको व्यवस्थापन गर्न माग गर्दै सरोकार मञ्चले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ।
मैत्री पुलको नेपाल र भारततर्फ ई–रिक्सा जथाभावी रूपमा पार्किङ गरिँदा दुवै देशका नागरिकलाई आवतजावतमा कठिनाइ भइरहेको छ। पुलको दुवैतर्फ बिहानदेखि साँझसम्म ई–रिक्सा अव्यवस्थित रूपमा रोकिराख्दा सवारीसाधनको आवागमन प्रभावित हुने गरेको छ भने पटक–पटक सवारी जामसमेत हुने गरेको छ।
ज्ञापनपत्रमा मैत्री पुलको दुवैतर्फ ई–रिक्साको अनियन्त्रित पार्किङका कारण भारत र नेपालबीच आवतजावत गर्ने यात्रु तथा सीमावर्ती क्षेत्रका बासिन्दाले दैनिक सास्ती खेप्नुपरेको उल्लेख गरिएको छ। पुलमा सवारीसाधनको आवागमन भइरहेका बेला ई–रिक्सा जथाभावी रोकिँदा यातायात व्यवस्थापनमा समस्या उत्पन्न हुने गरेको मञ्चले जनाएको छ।
आगामी दीपावली तथा छठ पर्वका अवसरमा रक्सौल बजारमा नेपाल र भारतका हजारौँ नागरिक किनमेलका लागि आउने भएकाले सवारी चाप थप बढ्ने सम्भावना रहेको पनि ज्ञापनपत्रमा उल्लेख छ। यस्तो अवस्थामा मैत्री पुलमा ई–रिक्साको अव्यवस्थित पार्किङले जामको समस्या थप गम्भीर बन्न सक्ने भन्दै मञ्चले समयमै उचित व्यवस्थापन गर्न माग गरेको छ।
मञ्चले मैत्री पुलमा जथाभावी ई–रिक्सा पार्किङ गर्न रोक लगाउन, ई–रिक्साका लागि व्यवस्थित पार्किङ स्थल निर्धारण गर्न तथा पुलको दुवैतर्फको यातायात आवागमन सहज बनाउन आवश्यक कदम चाल्न महानगरपालिकासँग आग्रह गरेको छ।
ज्ञापनपत्र बुझ्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले समस्याको तत्काल समाधानका लागि आवश्यक व्यवस्था मिलाउने तथा यसको दीर्घकालीन समाधान गर्ने आश्वासन दिएको मञ्चले जनाएको छ।
ज्ञापनपत्र बुझाउने टोलीमा सरोकार मञ्चका सचिव राजेश कुमार वर्मा, सदस्यहरू रञ्जन किशोर मिश्र र पिंकी कुमारी सहभागी थिए।



