स्वर्गीय बुवाको सम्झनामा समाजसेवी अधिवक्ता गुप्ताको मानवीय सेवा, छात्रावासका विद्यार्थीलाई भोजन र सहयोग

स्वर्गीय बुवाको सम्झनामा समाजसेवी अधिवक्ता गुप्ताको मानवीय सेवा, छात्रावासका विद्यार्थीलाई भोजन र सहयोग

वीरगन्ज कपडा बैंकका संस्थापक सल्लाहकार तथा नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष एवं समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको सम्झनामा आमाको माया छात्रावास, वीरगन्जका विद्यार्थीलाई भोजन गराउनुका साथै आवश्यक सामग्री सहयोग गरेका छन्।

गुप्ताले छात्रावासका विद्यार्थीलाई सप्रेम भोजन गराउँदै एक थान खाना पकाउने प्रेसर कुकर र एक थान साउण्ड सिस्टम सहयोग गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा गुप्ता परिवारका महिला, युवा तथा बालबालिकासहित परिवारका सदस्यहरूको सहभागिता रहेको थियो। अधिवक्ता गुप्ताले विद्यार्थीलाई आफैंले खाना खुवाएपछि छात्रावास प्रमुख सुजल चौधरीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए।

विद्यार्थीहरूले प्रेमपूर्वक थप–थप खाना, मिठाई तथा आइसक्रिमको स्वाद लिँदै रमाउँदा उनीहरूको अनुहारमा देखिएको खुसीले गुप्ता परिवार पनि निकै खुसी भएको थियो।

सो अवसरमा अधिवक्ता गुप्ताले आफ्ना बुवा रघुनाथ साह कानुको गत श्रावण १४ गते स्वर्गारोहण भएको स्मरण गर्दै बुवाले आफूलाई सधैं दुःखी, असहाय तथा पीडामा रहेकाहरूलाई सक्दो सेवा र सहयोग गर्न प्रेरित गर्ने गरेको बताए। कसैलाई सेवा, सहयोग वा दान गर्दा त्यसमा कहिल्यै कमी नहुने, बरु बढ्दै जाने बुवाको शिक्षा आफूले आत्मसात् गरेको उनले बताए।

गुप्ताले आफ्नो घरबाट केही मिनेटको दूरीमा रहेको आमाको माया छात्रावास वास्तविक मानवताको मन्दिर भएको बताउँदै देशभरिका असहाय तथा अनाथ बालबालिकालाई आश्रय दिएर गाँस, बास, कपाससँगै शिक्षा प्रदान गर्दै असल नागरिक बनाउने अभियानमा लागेका सञ्चालक परिवार तथा सहयोगी हातहरूलाई धन्यवाद दिए। आगामी दिनमा पनि आवश्यकता परेको अवस्थामा आफू र आफ्नो परिवार छात्रावास परिवारसँगै रहने प्रतिबद्धता जनाउँदै सबैलाई सक्दो सहयोग र हातेमालो गर्न आग्रह गरे।

कार्यक्रममा छात्रावास प्रमुख सुजल चौधरीले गुप्ता परिवारले छात्रावासमा आएर विद्यार्थीलाई न्यानो माया र मिठो भोजन गराउनुका साथै आवश्यक प्रेसर कुकर र साउण्ड सिस्टम सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरे। आगामी दिनमा पनि छात्रावासलाई माया र सहयोग गर्ने प्रतिबद्धताका लागि गुप्ता परिवारप्रति धन्यवाद दिँदै उनले आमाको माया छात्रावास वीरगन्जबाट सुरु भएको अभियान हाल देशभर १० वटा बाल शाखा र एक बालिका शाखासहित ११ शाखामार्फत सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार ती शाखाबाट ३५० भन्दा बढी असहाय बालबालिकालाई आश्रय तथा शिक्षा प्रदान गरिँदै आएको छ।

सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष तथा सामाजिक अभियन्ता लालबाबु सिंहले आमाको माया छात्रावासले गर्दै आएको सेवामूलक कार्यको जति प्रशंसा गरे पनि कम हुने बताए। असहाय तथा अनाथ बालबालिकालाई आश्रय, खानपान, बसोबास तथा शिक्षाको व्यवस्था गरी समाज र देशका लागि असल नागरिक निर्माण गर्ने कार्य चानचुने नभएको उनले बताए।

सिंहले छात्रावासको यस्तो नेक तथा सेवामूलक अभियानमा समाजसेवी गुप्ता परिवारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सबैलाई आफ्नो क्षमताअनुसार सहयोग र हातेमालो गर्न आग्रह गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close