प्रहरीलाई दलीय प्रभावमुक्त र स्वायत्त बनाउँछु : नवनियुक्त आईजीपी केसी, ‘प्रहरी देख्दा डर होइन, भरोसा महसुस हुने वातावरण बनाउँछु’

प्रहरीलाई दलीय प्रभावमुक्त र स्वायत्त बनाउँछु : नवनियुक्त आईजीपी केसी, ‘प्रहरी देख्दा डर होइन, भरोसा महसुस हुने वातावरण बनाउँछु’

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले नागरिकले प्रहरीलाई देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा बोल्दै उनले आफ्नो कार्यकाललाई ‘मैले के पाएँभन्दा पनि नेपाली जनतालाई के दिन सकेँ’ भन्ने आधारमा मूल्यांकन गर्ने बताए ।

दर्ज्यानी चिह्नलाई काँधमा थपिएको अलंकार मात्र नभई राज्य, जनता र सात दशक लामो इतिहास बोकेको प्रहरी संगठनप्रतिको भरोसाका रूपमा लिएको केसीले बताए ।

संगठनभित्रका आन्तरिक चुनौती र समस्यालाई नजिकबाट नियालेको बताउँदै आईजीपी केसीले तल्लो तहका प्रहरी कर्मचारी (जवान र हवल्दार) का गुनासा सुन्न तत्काल छुट्टै संयन्त्र बनाउने घोषणा गरेका छन् ।

‘आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीका गुनासा सुन्ने एउटा संयन्त्र सचिवालयमै प्राथमिकताका साथ सञ्चालन गर्नेछौँ,’ उनले भने ।

प्रहरीको लामो कार्यघण्टा, स्रोतसाधन तथा भौतिक पूर्वाधारको अभाव, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यजस्ता विषयमा प्रणालीगत सुधार गर्दै लैजाने उनले प्रतिबद्धता जनाए ।

प्रहरी संगठनको एक्लो प्रयासले मात्र पूर्ण शान्ति सुरक्षा कायम गर्न सम्भव नहुने भन्दै केसीले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिकको सहयोगको अपेक्षा गरेका छन् । आधुनिक प्रहरीको सबैभन्दा ठूलो पुँजी नै जनतासँगको सम्बन्ध भएको उनले बताए ।

उनले भने, ‘म नेपाल सरकारसँग आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता तथा राजनीतिक दलहरूसँग प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न सहयोगको विनम्र आग्रह गर्दछु ।’

सञ्चार जगतलाई पनि प्रहरीका कमजोरीसँगै राम्रा कामलाई समेत स्थान दिन उनले आग्रह गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close