
वीरगन्ज ।
वीरगन्जस्थित ज्ञानदा एकेडेमीका शिक्षक तथा कर्मचारीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रले विद्यालयको आन्तरिक शक्ति संरचना, व्यवस्थापकीय कार्यशैली र नेतृत्वको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
पत्रमा भाइस प्रिन्सिपल जागृति मिश्राविरुद्ध दुर्व्यवहार, तलबमा विभेद, दसैँ बोनस रोक्का, सामाजिक सुरक्षा कोष (एसएसएफ) मा अनियमितता तथा आइतबारको बिदामा समेत जबर्जस्ती काममा बोलाउनेलगायतका आरोप लगाइएको छ। तर, पत्रभरि एउटा महत्त्वपूर्ण नाम भने उल्लेख गरिएको छैन, विद्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रप्रसाद कोइराला।
पीडित शिक्षकहरूले चर्चित आईटी उद्यमी तथा शिक्षाविद् डा. रुद्र पाण्डेलाई सम्बोधन गर्दै लेखेको उक्त पत्रमा भाइस प्रिन्सिपल मिश्राले अभिभावककै अगाडि शिक्षकहरूलाई अपमान गर्ने, अध्यक्षकी श्रीमती तथा अन्य निर्देशकका श्रीमतीहरूसँग निकट सम्बन्ध बनाएर उनीहरूको कान भर्ने र आफ्नो विरोध गर्ने शिक्षकहरूलाई व्यवस्थापनमार्फत निशाना बनाउने गरेको आरोप लगाइएको छ।
पत्रमा गत वर्ष दसैँ आउनुभन्दा १० दिनअघि प्रशासन प्रमुख रोहन श्रेष्ठलाई बिनाकारण बर्खास्त गरिएको दाबी गरिएको छ। त्यस्तै, लामो समयदेखि कार्यरत शिक्षकलाई करिब २५ हजार रुपैयाँ तलब दिइँदा नयाँ शिक्षकलाई ४० देखि ४५ हजार रुपैयाँसम्म उपलब्ध गराइएको, दसैँ बोनस नदिइएको तथा आवश्यक स्वीकृतिबिनै सीबीएसईका कक्षा सञ्चालन भइरहेको जस्ता विषय पनि उठाइएका छन्।
विद्यालयको आधिकारिक परिचय तथा सार्वजनिक गतिविधिमा राजेन्द्रप्रसाद कोइराला सीईओ र प्रिन्सिपलको जिम्मेवारीमा रहेको देखिन्छ। विद्यालयको शैक्षिक गुणस्तर, शुल्क संरचना र विद्यार्थी संख्यामा भएको वृद्धिबारे जानकारी दिने मात्र होइन, अतिथि स्वागत, नतिजा घोषणा तथा दिगो विकास क्लब स्थापनालगायतका कार्यक्रमको अध्यक्षता गर्ने भूमिकामा समेत उनी देखिँदै आएका छन्।
यस्तो अवस्थामा स्वाभाविक प्रश्न उठ्छ, ‘यदि विद्यालयमा दर्जनौँ शिक्षक असन्तुष्ट छन्, तलबमा विभेद भइरहेको छ’, कर्मचारी बर्खास्तगीका घटना भएका छन् र सीबीएसई कक्षा सञ्चालनको विषयमा समेत विवाद तथा सरकारी कारबाहीको इतिहास छ भने ती सबै विषयको व्यवस्थापकीय जिम्मेवारी लिनुपर्ने सीईओ तथा प्रिन्सिपल कोइरालाको नाम शिक्षकहरूको खुला पत्रमा किन उल्लेख छैन?
खुला पत्रमै प्रशासन प्रमुख श्रेष्ठलाई ‘अध्यक्षको फोन नउठाएको’ निहुँमा अध्यक्षले भाइस प्रिन्सिपलको एकपक्षीय कुरा सुनेर बर्खास्त गरेको दाबी गरिएको छ। यसले विद्यालयको अन्तिम निर्णय प्रक्रियामा अध्यक्षको प्रभाव रहेको संकेत गर्छ। तर, यस्तो अवस्थामा सीईओ तथा प्रिन्सिपलको भूमिका के थियो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।
शिक्षक व्यवस्थापन, तलब निर्धारण, बोनस वितरण र सामाजिक सुरक्षा कोषमा योगदानजस्ता विषय विद्यालयको समग्र व्यवस्थापकीय प्रणालीसँग प्रत्यक्ष जोडिएका हुन्छन्। यी विषयमा सीईओ तथा प्रिन्सिपलको जिम्मेवारी र निर्णय प्रक्रियामा उनको संलग्नता के थियो भन्ने स्पष्ट हुन आवश्यक छ। तर, शिक्षकहरूको पत्रमा उठाइएका अधिकांश आरोप भाइस प्रिन्सिपल मिश्राको कार्यशैलीसँग केन्द्रित छन् भने सीईओ कोइरालाको भूमिकाबारे मौनता देखिन्छ।
त्यस्तै, भाइस प्रिन्सिपलले निर्देशकका श्रीमतीहरूमार्फत व्यवस्थापनको कान भर्ने गरेको आरोपले विद्यालयभित्रको निर्णय प्रक्रिया, प्रभाव र शक्ति सम्बन्धबारे थप जिज्ञासा पैदा गरेको छ। यदि विद्यालयका महत्त्वपूर्ण निर्णयहरू यस्तै अनौपचारिक सम्बन्ध र प्रभावका आधारमा हुने गरेका हुन् भने त्यसमा सीईओ तथा प्रिन्सिपल कोइरालाको भूमिका र स्थान के थियो भन्ने विषय पनि सार्वजनिक हुनुपर्छ।
यस प्रकरणलाई भाइस प्रिन्सिपलमाथि लगाइएका व्यक्तिगत आरोपमा मात्र सीमित गरेर हेर्नु पर्याप्त हुँदैन। विद्यालयको समग्र व्यवस्थापन, कर्मचारी प्रशासन, आर्थिक दायित्व र निर्णय प्रक्रियामा संलग्न सबै जिम्मेवार पदाधिकारीको भूमिका पनि निष्पक्ष रूपमा परीक्षण हुन आवश्यक छ। कुनै एक पदाधिकारीमाथि आरोप लगाउँदैमा संस्थागत जिम्मेवारी र नेतृत्वको जवाफदेहिता ओझेलमा पर्नु हुँदैन।
विद्यालयको नेतृत्वदायी जिम्मेवारीमा रहेका सीईओ तथा प्रिन्सिपल राजेन्द्रप्रसाद कोइराला यी विवादित विषयबारे कति जानकार थिए, निर्णय प्रक्रियामा उनको भूमिका के थियो र शिक्षकहरूको असन्तुष्टि सम्बोधन गर्न उनले के पहल गरे भन्ने प्रश्नको जवाफ नआएसम्म यो प्रकरणको पूर्ण चित्र सार्वजनिक हुन सक्दैन।
शिक्षकहरूको खुला पत्रले भाइस प्रिन्सिपल मिश्रालाई आरोपको केन्द्रमा राखे पनि सीईओ तथा प्रिन्सिपल कोइरालाको भूमिकाबारे देखिएको मौनता आफैँमा थप छानबिन र स्पष्टताको विषय बनेको छ। चौध वर्ष देखि ज्ञानदाको सेवा गर्दै अएको र निर्णय प्रक्रिया र बाहिरी तामझाममा नदेखिने गायत्री मिश्रालाई रुद्र पाँडे जस्तो शिक्षाविद्लाई प्रयोग गरेर आफ्नो दुनो सोझ्याउन खोज्ने धमिराको खोजीमा ज्ञानदा परिवार लाग्नुपर्ने स्थिति छ भने औँल्याइएका केही कमी कमजोरीहरू छन् भने त्यसलाई बेला मै सुधारका लागि पहल गर्नुपर्ने देखिन्छ। सभार:- अन्कुश दैनिकबाट



