
अवैध रूपमा स्यानिटाइजर तथा कस्मेटिक सामान बनाई विक्री-वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार २ बजे काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित खुशीबुबाट नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाउने दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित बनारस घर भई खुशीबु बस्ने ६५ वर्षीय अब्दुल मनान र कलंकी घर हुने ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल छन्।
प्रहरीले गुणस्तरहीन नक्कली ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री-वितरण गर्न तयार पारेको बेला उनीहरूलाई पक्राउ गरेको हो।
साथै, उनीहरूले चर्चित ब्रान्डका स्टिकर समेत आफैंले छपाई गरी खाली बोतलमा लेभलिङ तथा महँगो मूल्य समेत राखेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ।
उनीहरूबाट स्टिकर बनाउने मेसिन, नक्कली कस्मेटिक सामान, तौल गर्ने डिजिटल मेसिन, कलर प्रिन्टर, कम्प्युटर, सिपियु लगायतका सामान बरामद गरेको छ।
मनान र लुइँटेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।setopati




