नक्कली कागजातको आधारमा जग्गा नामसारी

वीरगंज–४ स्थित होटल मकालुअगाडि मूल सडकमा सिटी स्क्यान सेन्टर रहेको जग्गा मालपोत कार्यालय, पर्साले नक्कली कागजातको आधारमा नामसारी गराएको खुलासा भएको छ।
काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगंज महानगरपालिका–५ कित्ता नं. ७१ को ३२५ वर्गमिटर, कित्ता नं. ३ को १२७३.८ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं. १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६/११/१२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा दर्ता गरेको फेला परेको हो।

जग्गाधनी गोपाल राजभण्डारीका वास्तविक छोराहरू दीपक राजभण्डारी, राजीव राजभण्डारी र सञ्जीव राजभण्डारीलाई थाहा नदिई मुकेश राजभण्डारीलगायत राकेश राजभण्डारी, रूपेश राजभण्डारीले जग्गाधनीको नक्कली छोरा बनेर नामसारीको लागि मालपोत कार्यालय, पर्सामा २०७६/१०/२९ गते निवेदन दिएको देखिन्छ। जग्गाधनी गोपाल राजभण्डारीको मृत्यु २०७४/११/५ मा भएको र उनकी पत्नी कमलाको मृत्यु २०७३/११/१ मैं भइसकेको थियो।

मृतकको नामबाट नक्कली छोराहरूले सो जग्गा नामसारी गरेपछि वीरगंजका गिरधारी अग्रवाल (बंसल)ले रु ५० लाखमा जग्गा खरीदको लागि बैना गरेको र उनले सो जग्गा अदालतमार्फत् रोक्का गराएको देखिन्छ।

प्राप्त समाचार अनुसार नक्कली कागजात खडा गर्ने मुकेश राजभण्डारीले जग्गाधनी र निजकी पत्नीको मृत्युदर्ता ललितपुर महानगरपालिका–३ बाट गराएपछि नाता प्रमाणित र नागरिकता प्रमाणपत्रको आधारमा मालपोत कार्यालय, पर्साले सो जग्गा नामसारी गराएको पाइएको छ। वास्तविक जग्गाधनी काठमाडौं निवासी रहेको र जग्गा स्रेस्तामा पनि सोही कुरा उल्लेख भएपनि ललितपुरबाट अन्य कागजातहरू आउँदा मालपोत कार्यालयले छानबीन नगरी नामसारी गरेको कारण मालपोतका केही कर्मचारीको पनि संलग्नता देखिन्छ।

त्यतिमात्र होइन मुकेश राजभण्डारीले पेश गरेको नागरिकता र अन्य कागजातसमेत नक्कली पुष्टि भएको छ। कागजात अनुसार खोज्दै जाँदा अहिलेसम्म मुकेश राजभण्डारी भन्ने व्यक्ति फेला परेका छैनन्। बैना अनुसारको जग्गा पास हुन नपाई रोक्का भएर बसेपछि बैनादाता गिरधारी अग्रवाल (बंसल)ले जग्गाधनीविरुद्ध अदालतमा मुद्दा दायर गरिसकेका छन्।

जग्गा नामसारीको बेला प्रमाण पेश गर्दा फरक–फरक किसिमका कागजात पेश गरेको तर मालपोत कार्यालय पर्साले सो कागजातलाई गम्भीर तरीकाले छानबीन नगर्दा सो त्रुटि भएको देखिन्छ। नक्कली जग्गाधनी मुकेश राजभण्डारीले पेश गरेको कागजातमा दुईजना भाइ अस्टे«लियामा बस्ने र तिनीहरूले अस्टे«लियाली राजदूतावासको नक्कली कागजात तयार गरी अधिकृत वारिसनामासमेत पेश गरेको समाचार स्रोतले जनाएको छ।

करोडौं मूल्य पर्ने जग्गा कौडीको मूल्यमा खरीद गर्न तयार रहेका गिरधारीको पनि यसमा मिलेमतो तथा चलखेल हुन सक्ने भन्दै अनुसन्धानको पाटो त्यता पनि जान सक्ने जिल्ला प्रशासन कार्यालय पर्साका एक अधिकारीले बताए। यता गिरधारीले भने आफ्नो कुनै किसिमको मिलेमतो नरहेको, बैना रकमसमेत फसेकोले कानूनी उपचारको खोजीमा रहेको बताए। उनले दिएको मुद्दाको आधारमा पर्सा जिल्ला अदालतले ४ कित्तामध्ये एक कित्ता जग्गा रोक्का गरेको छ।

भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत सुमन झाले सबै कागजात गिरोहले नक्कली बनाएर ल्याएको पछि खुलेपछि सबै जग्गा रोक्का राखिएको बताए।
उनले नामसारी मात्र भएको र जग्गा खरीद–बिक्री गर्न नपाएको हुँदा रोक्का राखेर नामसारी बदरको प्रक्रिया अगाडि बढाएको बताएका छन्।prateekdaily.com

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close