
बारा , फागुन १३ गते बिहीबार ।
स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित बारा प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हाे । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ टोल बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् । फागुन १२ गते बिहान साढे ११ बजे कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका कार्यालय वडा न. ८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट उक्त परिमाणको रकम फेला परेको हाे ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताउनुभयाे । बीआर ०५ के ०७९८ नम्बरको मोटरसाइकलको डिक्किमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको हाे ।
उनीहरुको साथबाट प्रहरीले एक हजार दरका १,७७२ थान अर्थात १७ लाख ७२ हजार र ५०० रुपैयाँ दरका १,५२६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको हाे । रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




