
लोकतन्त्रको स्थापना तथा पुनर्स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने नेपाली अमर शहीदहरूको सम्झनामा आज देशभर राष्ट्रिय शहीद दिवस श्रद्धा र सम्मानका साथ मनाइएको छ। राजधानी काठमाडौंका शान्तिवाटिका, रत्नपार्कदेखि लैनचौरस्थित शहीद स्मारकसम्म विभिन्न स्थानहरूमा नागरिकहरू भेला भई शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
यसै अवसरमा भारतका प्रसिद्ध अन्तर्राष्ट्रिय लीफ आर्टिस्ट मधुरेन्द्र कुमारले आफ्नै अनौठो र सृजनात्मक कलामार्फत नेपाली शहीदहरूलाई विशेष सम्मान व्यक्त गर्नुभएको छ।
उहाँले करिब पाँच घण्टाको कठिन साधनापछि विश्वकै सबैभन्दा सानो हरियो पीपलको पातमा सूक्ष्म र अत्यन्त बारीक कलाकृति उकेर्दै वि.सं. १९९७ मा लोकतन्त्रका लागि संघर्ष गर्दै वीरगति प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको स्मृतिलाई जीवन्त बनाउनुभएको हो।
उक्त कलाकृतिमा नेपालको राष्ट्रिय झण्डा चित्रण गरिएको छ भने माथिल्लो भागमा “माघ १६ जय नेपाल” लेखिएको छ। साथै, “शहीदहरूलाई सलाम” भन्ने सन्देश अंकित गर्दै उहाँले नेपाली अमर वीरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उक्त कलाकृतिको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ।
पत्रकारहरूसँग कुरा गर्दै अन्तर्राष्ट्रिय लीफ आर्टिस्ट मधुरेन्द्र कुमारले वि.सं. २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १६ लाई राष्ट्रिय शहीद दिवसका रूपमा मनाउने परम्परा सुरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार शहीदहरूको त्याग, साहस र राष्ट्रप्रतिको समर्पणलाई सम्झन तथा सम्मान गर्न यो दिवस महत्वपूर्ण रहेको छ।
आजको दिन नेपाली शहीदहरूको अदम्य साहस, बलिदान र देशप्रतिको निष्ठालाई स्मरण गर्ने ऐतिहासिक अवसरका रूपमा श्रद्धा र गर्वका साथ मनाइएको छ।
यस अवसरमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, उच्च सरकारी अधिकारीहरू, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा नागरिक समाजका सदस्यहरूले शहीद स्मारक पुगेर ज्ञात तथा अज्ञात शहीदप्रति सम्मान व्यक्त गरेका छन्।




