
१७ वैशाख ।
कोरोना संक्रमणको कारण लगाईएको निषेधाज्ञाको समयमा जनगणना सम्बन्धी सयौं गणकहरुलाई भेला गरी तालिम गरेको भेटिएपछि पत्रकारहरुको नेतृत्वमा गएको टोलीले सो तालिम स्थगित गराएको छ ।
बीरगंजको सिद्धार्थ इन्टरनेशल कलेजमा आयोजित तालिमलाई संचारकर्मीहरुको टोलीले कोरोना संक्रमणको बेला १ सय ५६ भन्दा बढी मानिस भेला गरेर सामाजिक दुरी समेत कायम नगरी तालिम गराईएको भन्दै विरोध जनाएपछि आयोजकले तालिम स्थगित गर्न बाध्य भएको थियो ।
संचारकर्मीहरुले निषेधाज्ञाको उल्लंघन गरी तालिम गरिएको भन्दै घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी एवं प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई जानकारी गराएपछि तालिम स्थगित भएको थियो ।
तालिममा सहभागि हुन पर्साको ठोरी देखि १४ वटै पालिकाका महिला, पुरुषहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई निषेधाज्ञाको समयमा नआएमा करार नियुक्ती बदर गरी दिने चेतावनी दिएको कारण आफूहरु बाध्य भएर आएको सहभागितहरुले बताएका थिए ।
तथ्यांक कार्यालयका प्रमुख केशव ज्ञवालीले गृह मन्त्रालयको आदेशमा आफूले तालिम संचालन गरेको बताउदै आफूले तालिम नरोक्ने अडान लिएपछि संचारकर्मीहरुले माथिल्लो निकायलाई जानकारी गराउदै तत्काल तालिम रोक्न चेतावनी दिएका थिए ।
विवाहमा १५ जना भन्दा बढीलाई सहभागि हुन नदिने प्रशासनले १ सय ५६ जनालाई सानो कोठामा कोचेर संक्रमणको बेला तालिम लिन बाध्य गराईएको हुँदा तालिम दिने संस्थाका प्रमुखलाई कारवाही गर्न स्वयं सहभागिहरुले माग गरेका छन् ।




