बारा बालक हत्या प्रकरण : आमाका प्रेमीले हत्या गरेको पुष्टि, हत्यारा पक्राउ

बाराको कलैयामा भएको दुई बालकको हत्या प्रकरणका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हत्याको आरोपमा बालकद्वयका आमाका प्रेमी कलैया उपमहानगरपालिका वडा नं. ७ निवासी २५ वर्षीय फरमुल्लाह अन्सारीलाई पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानबाट मृतक छोराहरुको कारणले आफ्नो र मृतकहरुकी आमा बीचको प्रेम सम्बन्ध सफल हुन नसक्ने देखेपछि दुई दाजुभाईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

बुबा अब्दुल गफार अन्सारी विगत तीन वर्षदेखि वैदेशिक रोजगारका क्रममा विदेशमा रहेकाले मृतकहरुका आमा र निज अभियुक्त बीच घनिष्ठता र हिमचिम बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । सोही घनिष्ठता र हिमचिम एकोहोरो प्रेममा परिणत भएपछि एकोहोरो प्रेमको बाटोमा बालकहरुलाई अभियुक्तले ढुंगा देखेपछि हत्या गरेको प्रहरी बताउँछ ।

यसरी भएको थियो हत्या
बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ७ घर भएका अब्दुल गफार अन्सारी विगत ३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन् । श्रीमान् विदेशमा रहेकाले आमा एक, दिदी, एक बहिनी र दुई बालक ९ वर्षीय अमान अन्सारी र ९ वर्षीय उसमान अन्सारी गरी पाँच जना रंगपुरस्थित छुट्टै घरमा बस्दै आईरहेका थिए ।

घरमा साह्रो-गाह्रो पर्दा सघाउने पुरुष मान्छे कोही पनि नभएकाले निज अभियुक्त फरमुल्लाह अन्सारीले सहयोग गर्न उनीहरुका घरमा आइरहने गर्थे । यसै क्रममा बालकका आमा र निज अभियुक्त बीच घनिष्ठता र हिमचिम बढ्न गयो । बढ्दै गएका घनिष्ठता र हिमचित प्रेममा परिणत भएपछि नातामा भाउजु पर्ने बालकका आमालाई निज अभियुक्त अन्सारीले छोराहरुलाई घरमै छाडेर छोरीहरुलाई मात्र लिएर भारततिर गएर बसौं भनेर दबाब दिने गर्थे । तर आमाले छोराहरुलाई छोड्न नमानेपछि अन्सारीले छोराहरु आफ्नो प्रेममा बाधक रहेको बुझे । छोराहरुकै कारणले गर्दा आफ्नो प्रेम सफल नहुने उनले देखे ।

यता, छोराहरु छोड्न दबाब दिएपछि बालककी आमा पनि निज अन्सारीबाट टाढा हुदैं गएकी थिइन् । जुन कुरा अन्सारीलाई पटक्कै मन परेन । अन्सारीले यही कुरालाई लिएर “पख्, तँलाई छोराहरुको घमण्ड छ हैन, देखाईदिन्छु” भन्दै धम्की पनि दिए ।

अनि,अन्सारीले आफ्नो योजनालाई सफल पार्न बालकहरुसँग नजिकिन शुरु गरे । दुई दाजुभाईलाई मिठाई किनेर खुवाउने, घुमाउन लैजाने र बालकहरुले भनेको ठाँउ लगेर घुमाउने आदि गर्न थाले । किनभने अन्सारीलाई बदला लिनु थियो । साथै, अन्सारी र आफ्नी आमा बीचको लसपसको बारेमा दाजुभाईले थाहा पाईसकेका थिए । घुम्न जाने सिलसिलमा बालकहरुले यो सालको ईदमा बुबा घरमा आउँदा सबै कुरा भनिदिने भनी अन्सारीलाई भनेका थिए । जुन कुराले गर्दा अन्सारीका आफ्नो प्रेम विफल हुन्छ र आफ्नो भेद खुल्छ भन्ने अर्को डर पनि लाग्यो ।

यस्तै, अन्सारीलाई अर्को के कुराको चिन्ता पनि थपियो भने उनले आफ्नी प्रेमिका अर्थात बालककी आमासँग आर्थिक कारोबार पनि गरेका थिए । लिएको पैसा अन्सारीले फिर्ता गरेका थिएनन् । तर श्रीमान् ईदमा घर फर्किने भएपछि पैसा माग्ने होलिन् भन्ने चिन्ता पनि थपियो, अन्सारीलाई । अनि, अन्सारीले यी सबै चिन्ता समाधानको एउटै उपाय देखे बालकहरुको हत्या ।

अनि अन्सारीले बालकहरुकी आमा माईतमा आफ्नो भाई पर्ने व्यक्तिको दाहसंस्कारमा गएको बेला बच्चाहरु मात्र घरमा भएको सुईको पाए । सोही दिन दुई दाजुभाईको हत्या गर्ने योजना बनाए । सोही अनुरुप जेठ ३ गते साँझ बालकहरुलाई लोभलालच पारी कलैया वडा नं. ११ स्थित मदर्शा सलफिया कन्जुलमको निर्माणाधिन भवनको कोठामा बोलाए । त्यहीं अन्सारीले दुई बालकहरुको निर्मम तरिकाले घाँटी रेटेर हत्या गरे ।

बारका प्रहरी प्रवक्ता मिश्राले बालकहरुले हत्या गरेर जेठ ४ गते बिहान ४ बजेर ४१ मिनेटमा कलैया बजारको चोकमा अन्सारी असामान्य तरिकाले हिंडडुल गरिरहेको सिसिटिभीमा देखिएको बताए । जेठ ३ गतेबाट हराएका दुई बालकको शव जेठ ४ गते बिहान फेला परेपछि निज अभियुक्त अन्सारी घटनास्थलमा समेत पुगेको र तालिमप्राप्त कुकुर आउदैं भन्ने थाहा पाएपछि त्यहाँबाट फरार भएको प्रवक्ता मिश्राले बताए । प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मिश्राको कमाण्डमा गठन भएको अनुसन्धान टोलीले तालिमप्राप्त कुकुरको सहयोग, घटनासँग सम्बन्धित विभिन्न ५० जना भन्दा बढी व्यक्तिहरुसँगको सोधपुछ, पोलिग्राफको प्रयोग लगायको मद्दतबाट अपराधीसम्म पुग्न प्रहरी सफल भएको मिश्राले बताए ।

प्रहरीले अभियुक्त अन्सारको कोठाबाट शंकास्पद रुपमा रहेको चक्कु र रगत जस्तो पदार्थ लागेको निजले लगाउने गरेको बेल्ट बरामद गरेको छ । निज उपर परेको किटानी जाहेरीको दर्ता गरी हाल प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता मिश्राले जानकारी दिए ।
Source:-Nepal post daily

बारा बालक हत्या प्रकरण : आमाका प्रेमीले हत्या गरेको पुष्टि, हत्यारा पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close