बाबुको पहिचान नभएको स्वघोषणा गरे आमाको नामबाट नागरिकता पाइने

सरकारले नागरिकता ऐन-२०६३ संशोधन गर्न जारी गरेको अध्यादेशमा आमाको नामबाट मात्र वंशजको नागरिकता पाउन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ।

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा, निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजले वा निजका आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा गरे आमाको नामबाट नागरिकता पाउने छन्,’ अध्यादेशमा भनिएको छ।

तर त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गरे पनि उसले वंशजको आधारमा नागरिकता पाउनेछ।

यो व्यवस्था संसदको राज्यव्यवस्था समितिले छलफल गरेर टुंग्याएको नागरिकता सम्बन्धी विधेयककै व्यवस्था हो। यो व्यवस्थाले आमाको नामबाट नागरिकता पाउन बाबुको पहिचान अनिवार्य गर्छ र यसले महिलाको नागरिकको स्वतन्त्र हैसियत नकार्छ भनेर महिला सांसद तथा महिला अधिकारकर्मीहरूले विरोध गर्दै आएका छन्।

संविधानले आमा वा बाबुको नामबाट नागरिकता दिने उल्लेख गरेको छ। त्यसैले जसरी बाबुले आफ्ना सन्तानलाई आफ्नो नामबाट मात्र नागरिकता दिलाउन सक्छन्, आमाले पनि त्यसरी नै आफ्ना सन्तानलाई नागरिकता दिलाउन पाउनुपर्ने उनीहरू बताउँछन्।

अहिले आएको अध्यादेशले आमाको नामबाट नागरिकता दिन तीनवटा सर्त तोकेको छ।

पहिलो, नेपालमै जन्म भएको हुनुपर्‍यो।

दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्छ।

तेस्रो, बाबुको पहिचान नभएको हुनुपर्छ।

यी सर्त पूरा भए पनि सरकारले तोकेको भाषामा स्वघोषणा गर्नुपर्ने हुन्छ।

बाबुको पहिचान नभएको भन्दै गरेको स्वघोषणा गलत ठहरिएमा त्यस्ता व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्मको कैद सजाय वा एक लाखदेखि तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने अध्यादेशमा उल्लेख छ। झुटो स्वघोषणाबाट लिइएको नागरिकता रद्द हुने व्यवस्था अध्यादेशमा छ।

यसरी आमाको नामबाट नागरिकता लिएको व्यक्ति पछि विदेशी बाबुको सन्तान ठहरियो भने उसको वंशजको नागरिकता रद्द हुने व्यवस्था पनि अध्यादेशमा गरिएको छ। त्यस्ता व्यक्तिले बाबुको देशको नागरिकता नलिएको भनेर तोकिए बमोजिमको स्वघोषणा गरे अंगीकृत नागरिकता पाउने अध्यादेशमा उल्लेख छ।

तर नेपाली बाबु र विदेशी आमाबाट जन्मेको र उसको देशको नागरिकता नलिएको व्यक्तिले भने आमा विदेशी नै भए पनि वंशजको नागरिकता पाउँछन्। यो संविधानकै व्यवस्था हो। setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close