नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका जताततै भवन,नक्साविना समेत बनाइएको भन्दै आलोचना

पासबिना, सर्बत्र आलोचना

कपिलवस्तु । कुनै पनि जिल्लामा पत्रकार महासंघको कार्यालय भवन कति वटा होला ? सहज उत्तर हुन्छ- एउटा । पत्रकार महासंघको केन्द्रीय कार्यालयको पनि पुरानो टहरोसहित जम्मा दुई वटा भवन मात्रै छन् । तर, कपिलवस्तु जिल्लाको पत्रकार महासंघको जिल्ला शाखाले भवन निर्माणमा रेकर्ड नै कायम गरेको छ ।

महासंघको सदरमुकाम तौलिहवामा सुविधासम्पन्न शाखा कार्यालय भवन छ भने पूर्व-पश्चिम राजमार्गको केन्द्रसमेत रहेको बुद्धभूमि नगरको गोरुसिङ्गेमा सूचना सेन्टर रहेकोमा महासंघले वाणगङ्गा नगरपालिकाको वडा नं ८ बोडगाउँमा फेरि पक्की भवन निर्माण थालेको छ ।

बोडगाउँमा निर्माणाधीन भवन नक्सा पासबिना नै बनेको भन्दै स्थानीय बासिन्दाले ध्यानाकर्षण गराएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा राजनीतिक सल्लाहकार रहेका चक्रपाणी खनाल (बलदेव)ले पहुँचका आधारमा जिल्लामा ५ करोड रुपैयाँ स्थानान्तरण गरेर ल्याएका थिए । खनालको गत वर्षको संसदीय कोष अन्तर्गतको बजेटबाट बोडगाउँमा पत्रकार महासंघको भवन बनाउनका लागि १२ लाख रुपैयाँ उपलब्ध गराइएको माओवादी जिल्ला कार्यालय स्रोतले जानकारी गराएको छ ।

महासंघका जिम्मेवार पदाधिकारीले १० लाख रुपैयाँ मात्र उपलब्ध भएको जानकारी गराए । भवन निर्माणमा १० लाख रुपैयाँ संसदीय कोषबाट र बाँकी तीन लाख रुपैयाँ नगरबाट उपलब्ध भएको महासंघ शाखाले जनाएको छ । अहिलेसम्मको लागत १७ लाख रुपैयाँ रहेको महासंघका एक जना पदाधिकारीले बताए ।

महासंघका पूर्व जिल्ला सभापति वसन्त गिरीले गोरुसिङ्गे सूचना सेन्टर यसअघि नै बनाएको बताए भने अर्का पूर्वसभापति मनोज पौडेलले पालिकापिच्छे महासंघका नाममा भवन वा भौतिक संरचना बन्नु आफैमा पेशाको दुरुपयोगको सम्भावना रहेको तर्क गरे ।

स्थानीयवासीका अनुसार यसै आर्थिक वर्षमा लालपुर्जा नै नभएको जग्गामा मिलोमतोमा महासंघले उक्त भवन निर्माण गरेको हो । उक्त स्थान वार्डको खुला स्थानका रुपमा संरक्षित गर्ने सहमति भए जनप्रतिनिधिको स्वार्थका कारण खुला स्थान मासिँदै गएको स्थानीयको गुनासो छ । महासंघको भवननजिकै ओशो ध्यान केन्द्र पनि त्यसरी नक्सापास नगरिकनै बनेको स्थानीयबासी बताउँछन् ।

स्थानीय गणेश मन्दिर निर्माण समिति, लौगाइका अध्यक्ष विष्णु भट्टराईले भने, ‘पत्रकार महासंघ र ओशो ध्यान केन्द्र बनेको स्थल हाम्रा सन्ततिका लागि क्रिडास्थल (खेलमैदान) बनाउन चाहन्थ्यौँ, तर कंक्रिटयुक्त भवन बनिरहेका छन् ।’

नगरका प्रवक्ता विष्णु पौडेलले नगरमा बन्ने पक्की भौतिक संरचना नक्सा पासविना नै बन्नु आफैमा गैरकानुनी हुने भन्दै यदि त्यसरी व्यक्ति वा संघसंस्थाले नयाँ भौतिक संरचना बनाएमा भने त्यो स्वतः गैरकानुनी ठहर हुने बताए ।

उनले भने, ‘पुर्जा (नगरको मानित पुर्जा वा मालपोत कार्यलयको पुर्जा) बिनाका जग्गामा नयाँ बन्ने संरचनामा नक्सा पास नै हुदैन ।’ तर महासंघले उक्त जग्गामा नगरबाट नक्सा नै पास नगरी भवन बनाएको हो ।

स्थानीय बासिन्दा दुर्गा अर्यालले आफू पनि महासंघको सदस्य भए पनि त्यस्ता अपारदर्शी कार्यलाई ठीक हो भन्न नसक्ने बताए ।

माओवादीनिकट पत्रकार भनेर चिनिने महासंघका यसअघिका अध्यक्ष डिलाराम भुसालको पहुँचबाट उक्त भवन बनाइएको जानकारी हुन आएको छ । उक्त भवनमा अहिले नगरको अनुदानबाट दोस्रो तल्ला थप्ने कार्य भइरहेको छ ।

नक्सा पास भए-नभएको बारे लिखित रुपमा जानकारी माग गर्दा निर्माण समिति सदस्य एवं जिल्ला पत्रकार महासंघका हरि अधिकारी मौन रहे । उक्त वार्डका जनप्रतिनिधि वार्डअध्यक्षले समेत लिखित जानकारी माग्दा जवाफ दिन चाहेनन् ।

एक तल्ला निर्माण सम्पन्न भएको त्यही भवनमा फागुन महिनामा महासंघले नगरको सार्वजनिक सुनुवाई गरेको थियो ।

प्रवक्ता पौडेलले भने, ‘भवनका लागि नगरले सहयोग गरेको छ, तर कति हो, अहिले भन्न सक्दिनँ ।’ जिल्लामा नागरिक समाजका अगुवा रवि ठाकुरले नक्सा पासविना नगरमा भवन बन्नु बनाइनु गैरकानुनी कार्य भएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close