
छठपूजाको सामान खरीद गर्न वीरगंज बजारमा यस वर्ष अन्य वर्षको तुलनामा मानिसहरूको भीड बढी भएको छ।
दशैं, दीपावली र अहिले छठपूजाको समय वीरगंज बजारमा अन्य वर्षको तुलना बढी भीड भएको हो।
यसो हुनुको एकमात्र कारण हो सीमा सिल हुनु। भारतले कोरोनाको कारण बन्द गरेको सीमा कात्तिक ६ गतेदेखि खुला गरेपछि नेपालले भने आफ्नो सीमा मङ्सिर मसान्तसम्म आधिकारिकरूपमा बन्द गरेको छ। सीमा बन्द भएको कारण भारतीय बजारमा गएर सामान खरीद गर्ने क्रम रोकिएको छ
लुकीछिपी वीरगंजसँग जोडिएको छिमेकी भारतको रक्सौल बजार जाने क्रम अन्य वर्षको तुलना निकै पातलिएको छ। यसैगरी सीमावर्ति पर्साको ग्रामीण क्षेत्रमा पनि भारत गएर सामान खरीद गर्ने काम अन्य वर्षको तुलनामा कम छ।
नेपाली बजारको तुलनामा भारतीय बजारमा सामान सस्तो हुने गरेकोले सामान्य अवस्थामा मानिसहरू भारतीय बजारमा गएर चाडपर्वका समान खरीद गर्दै आएका थिए। तर अहिले सीमा शिल भएको कारण विदेशी बजार जान रोकिएकोले वीरगंज बजारमा मानिसको भीड बढेको व्यापारीहरू बताउँछन्।
वीरगंजमा दशैं, दिपावलीमा सामान खरीद गर्ने ग्राहकभन्दा छठपूजामा सामान खरीद गर्नेहरूको भीड बढेको छ। दीपावली सकिएलगत्तै छठपूजामा नयाँ कपडाका लागि वीरगंजका पसलहरूमा मानिसको भीड शुरू भएको हो र आजपनि कायम रह्यो। कपडा, जुत्ता, चप्पल, खाद्यान्न, इलेक्ट्रिक गरगहनाका पसलमा भीड बढिरह्यो। eprateek daily




