
अजित भुजेल
बीरगञ्ज, बैशाख २२ गते सोमबार ।
बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पार्टीबाट राजीनामा दिने बताएका छन् । सोमबार बिरगंजकै एक एफएम कार्यक्रममा मेयर सरावगीले सो कुराको जानकारी गराएका हुन।आफ्नै पार्टीकै नेता तथा कार्यकर्ताहरुले विभिन्न षडयन्त्र गरेर काम गर्न नदिइरहेको बताउदैं मेयर सरावगीले राजीनामा दिँदा कानुनी रुपमा पद गुम्ने भएकाले मात्रै आफू अहिलेसम्म यही पार्टीमा आबद्ध भएको संकेत गरेका थिए ।
स्थानीय एक रेडियोमा अन्तरवार्तामा कुरा गर्दै मेयर सरावगीले यदि पार्टीले राजीनामा दिन भन्छ भने सो का लागि आफू तयार रहेको प्रष्ट पारेका छन् । पार्टीकै केही नेताहरुकै निर्देशनमा आफुलाई बदनाम गर्ने र काम गर्न नदिने खेल भइरहेको समेत बताए ।
आफू पार्टीको मात्र नभई जनताको मेयर भएको जनाए। आफूलाई जनताले मेयर बनाएकोले पार्टीको नीति र निर्देशन भन्दा जनताको कुरा र समस्यामा बढी ध्यान दिने उनले प्रष्ट पारे ।
यसै गरि पहिला पनि आफुले दुई पटक पार्टीका केन्द्रिय अध्यक्ष समक्ष राजीनामा बुझाएको बताउदैं मेयर सरावगीले जिल्लाका केही नेता आफ्नो टिआरपी बढेको देखेर आत्तिएको बताए । हरेक दिन पार्टीका केही नेताहरुको निर्देशनमा कार्यकर्ताहरुमार्फत विभिन्न प्रोपोगान्डा झिकेर काम गर्न नदिरहेको बताउदैं मेयर सरवागीले पार्टीलाई आफ्नो काम प्रति चित्त नबुझेको भए बर्खास्त गर्न सक्ने बताए ।
पार्टीका केही नेताहरुको इशारामा आफु माथि यति षडयन्त्र भइरहँदा पनि पार्टीको नेतृत्व भने मुकदर्शक भएर बसेको उनको आरोप छ । जाबो एउटा नगर अध्यक्षले प्रोपोगान्डा रचेर बदमान गर्न खेल खेल्दा समेत पार्टीले कारवाही गर्न नसकेको र चुप लागेर बसेको उनको आरोप छ ।
संविधान दिवसको दिन थाहा नभएर जुलुशमा सहभागी हुँदा २४ घण्टे स्पष्टीकरण पत्र काट्ने पार्टीले पार्टीकै मान्छेले बदनाम गराई रहँदा चुप लागेर बसेकोमा उनको असन्तुष्टि छ । पार्टीका षडयन्त्रकारी विरुद्ध कारवाहीको माग पार्टीमा आफुले राखेको र निर्णय प्रतिक्षामा रहेको उनले खुलाशा गरे ।
केन्द्र, प्रदेश र जिल्ला नेतृत्वले समेत आफुलाई पेलेर जान चाहेको भन्दै उनले आफ्नो पटक–पटक मानमर्दन हुने कार्य भएको उनले बताए । तपाईको पक्षमा पार्टीको नेतृत्व किन बोल्दैन त ? भन्ने प्रश्नमा पार्टी भित्र ठूलो गुण्डागर्दी रहेको उनले खुलाशा गरे । आफ्नो पक्षमा बोल्दा ठोक्दिने र मारदिने धम्की दिइने गर्दा डरले कोही पनि नबोलेको उनको भनाई छ । पार्टीकै ठूला नेता समेत पछाडि–पछाडि ठूला कुरा गर्ने तर अगाडि भने डरले “भिगी बिल्ली” हुने गरेको मेयर सरावगीले बताए ।




