
वीरगञ्ज — पर्सा जिल्लामा समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सरसफाई कर्मी र एम्बुलेन्स चालकलाई शनिवार एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।
वीरगञ्जको रजतजयन्ति चोकमा रहेको नेपाल इण्डो हस्पिटल र भाइजान अफ वीरगञ्जको संयुक्त आयोजनामा २४ जना स्वास्थ्यकर्मी, १२ जना सरसफाईकर्मी र ५० जना एम्बुलेन्स चालकलाई खादा ओढाएर सम्मान गरिएको हो । सम्मानित व्यक्तिहरुलाई कोरोना संक्रमणबाट जोगिन व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सेट समेत वितरण गरिएको भाइजान अफ वीरगञ्जले जनाएको छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल इण्डो हस्पिटलका प्रमुख चन्द्रशेखर ठाकुरले आफ्नो जिउ ज्यानको प्रवाह नगरी जोखिम मोलेर काम गर्नेहरुको जति सम्मान गरेपनि अपुग हुने बताउनुभयो । साथै ठाकुरले एम्बुलेन्स चालक तथा उनिका परिवारका जो कोही बिरामी भएमा इण्डो हस्पिटलले निशुल्क उपचार गर्ने पनि घोषणा गर्नुभयो ।
कार्यक्रममा भाइजान अफ वीरगञ्जका अध्यक्ष नौसाद अन्सारीले समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न फ्रन्टलाईनमा खटिएकाहरुको हौसला बढाउनका लागी आफुहरुले सानो प्रयास गरेको प्रतिक्रिया दिनुभयो ।
वीरगञ्जका विभिन्न ठाउँमा रहेका कोभिड अस्पताल तथा आइसोलेसन सेन्टरमा कार्यरत स्वस्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा डा. महेश्वरप्रसाद कुर्मी, डा. घनश्याम यादब, डा. एकलाखु रहमान लगायतको उपस्थिती रहेको थियो ।




