बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै वीरगञ्ज युवा समाजद्वारा दाउरा बितरण

वीरगञ्जमा बढ्दै गरेको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै वीरगञ्ज युवा समाजले दाउरा वितरण गरेको छ । धेरै व्यक्तिहरुको जमघट हुने क्षेत्रमा चिसोका कारण नागरिकलाई सास्ती खेप्नु नपरोस् भन्ने अभिप्रायले वीरगञ्ज युवा समाजले वीरगञ्जका विभिन्न स्थानमा दाउरा बितरण गर्नुका साथै आगो बालेर न्यानो प्रदान गरेको छ ।

समाजका अध्यक्ष कमल चौगाईको नेतृत्वमा वीरगञ्जको बिर्ता मन्दिर चौकमा दाउरा बालेर दाउरा बितरण तथा आगो बाल्ने अभियानको सुरुवात गरिएको हो । बिरामी तथा बिरामीका कुरुवाहरुलाई न्यानो बनाउनका लागि समाजले नारायणी अस्पतालमा पनि आगो बाल्नुका साथै त्याहाँका कर्मचारीलाई दाउरासमेत हस्तान्तरण गरेको छ ।

समाजका सदस्य दिवस सिँह ठकुरीको संयोजकत्वमा वीरगञ्ज भन्सार, शंकराचार्य गेट, घण्टाघर, पावरहाउस चौक लगायतका स्थानमा दाउरा बाल्नुका साथै वितरण गरिएको समाजका सदस्य दिगम्बर थापाले जानकारी दिए ।

केही दिनदेखि बढ्दै गएको चिसोका कारण नागरिकको जनजिवनसमेत प्रभावित हुँदै आएको छ । चिसो बढेसँगै न्यानो कपडा तथा दाउरा बितरण गर्ने अध्यक्ष चौगाईले प्रतिबद्धता गरेबमोजिम दाउरा बितरण अभियानको शुभारम्भ गरेका हुन् ।

चिसो मौसममा अन्य स्थानमा पनि दाउरा बितरण अभियानलाई निरन्तरता दिने अध्यक्ष चौगाईको भनाई छ । सो अवसरमा समाजका सदस्यहरु अनुप अग्रवाल, अमित गुप्ता, आदित्य चौगाई, रबी केशरी, लाबाबु चौधरी, लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close