नक्कली भ्याट बिल बनाएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दायर

वीरगञ्ज – राजस्व अनुसन्धान विभागले वस्तु वा सेवाको खरिद नै नगरी नक्कली भ्याट बिल बनाई राजस्व छली गरेको आरोपमा पर्सा र बाराका दुई फर्मका सात जनाविरुद्ध २० करोडभन्दा बढीको मुद्दा दायर गराएको छ।

विभागले बुधबार नक्कली भ्याट बिल बनाई राजस्व छली गरेको आरोपमा दुवै फर्मका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा २० करोडभन्दा बढी बिगो र सोहीअनुसार सजाय माग गर्दै मुद्दा दायर गराएको हो।

विभागले बाराको भलुही भरवलिया–१, साविक ठेगाना भई हाल प्रसौनी गाउँपालिका–४ बस्ने लार्ज ट्रेड लिंक प्रालिका सञ्चालक अर्जुनप्रसाद पटेल, बारा जिल्ला सिरहा राजपुर–५ स्थायी ठेगाना भई महालक्ष्मी नगरपालिका–१ इमाडोल ललितपुर बस्ने जयकिशोर साह, सिरहा रामपुर –९ पिपरा बस्ने सूर्यजितप्रसाद साह र सर्लाही साविक भक्तिपुर गाविस–८ ठेगाना भई हाल कागेश्वरी नगरपालिका–१३ काँडाघारी बस्ने तोयनाथ अधिकारीविरुद्ध नक्कली भ्याट बिल प्रकरणमा १८ करोड ३५ लाख २२ हजार २ सय ८६ रुपैयाँ बिगोसहित सोही रकम बराबरको सजाय हुनुपर्ने मागदाबीसहित अदालतमा मुद्दा दायर गराइएको विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले जानकारी दिए।

यस्तै, पर्साको अलौ–७ स्थायी ठेगाना भई हाल वीरगञ्ज महानगरपालिका–७ बस्ने तुराहा सप्लायर्स प्रालिका सञ्चालक हरिनारायण साह तुराह, सिरहा विष्णुपुर गाउँपालिका–२ ठेगाना भई हाल महालक्ष्मी नगरपालिका–१ इमाडोल ललितपुर बसोवास गर्ने किशोर साह र सिरहा रामपुर–९ पिपरा बस्ने सूर्यजितप्रसाद साहविरुद्ध विभागले नक्कली भ्याट बिल प्रकरणमा २ करोड १८ लाख ९८ हजार १ सय २४ रुपैयाँ बिगोसहित सोही रकम बराबरको सजाय हुनुपर्ने मागदाबीसहित मुद्दा दायर गराएको पौडेलले बताए।

दुबै फर्मका सञ्चालकले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ। साभार देश सञ्चारबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close