वीरगञ्ज नाका भएर ५ महिनामा २ अर्बको फलफूल जुस निर्यात

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर ०७८÷७९ को पहिलो पाँच महिनामा फलफूलको जुस निर्यात बढेको छ।

चालु वर्षको साउनदेखि मंसिरसम्म वीरगञ्ज भन्सार नाका भएर दुई अर्ब २५ करोड २९ लाख एक हजार मूल्य बराबरको फलफूलको जुस निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकले देखाएको छ।

यस अवधिमा नेपालबाट विदेशमा ३ करोड दुई लाख ७८ हजार पाँच सय ७७ लिटर फलफूलको जुस निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ।

चालु वर्षको मंसिरमा मात्रै वीरगञ्ज नाका भएर ३७ करोड ५५ लाख ३४ हजार बराबरको ५१ लाख ७९ हजार ९ सय ८७ लिटर फलफूलको जुस नेपालबाट निर्यात गरिएको थियो।

यस्तै, ०७७÷७८ मा भने साउनदेखि मंसिरसम्म पहिलो पाँच महिनाको अवधिमा एक अर्ब ५१ करोड एक लाख ३ हजार मूल्य बराबरको २ करोड ८ लाख ७६ हजार एक सय ७७ लिटर मात्रै फलफूलको जुस निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

यस आँकडाअनुसार ०७७/७८ को पहिलो पाँच महिनाको तुलनामा चालु वर्ष ७४ करोड एक लाख ८८ हजार मूल्य बराबरको जुस विदेशमा निर्यात भएको हो। नेपालबाट भारत तथा अन्य मुलुकमा निर्यात हुने मुख्य २० वस्तुमध्ये चालु वर्षको पहिलो पाँच महिनामा तेस्रो नम्बरमा फलफूलको जुस निर्यात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ। साभार देश सञ्चारबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close