
बिरगंज महानगर पालिकाका मेयर विजय कुमार सरावगीले अपांगता भएकाहरुको लागि निर्माण गरिएको छात्रावासको उदघाटन गर्नुभएको छ । बिरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा अपांगताहरुको लागि संचालित विद्यालयमा नगर स्तरीय बजेटबाट निर्माण सम्पन्न भएको छात्रावास भवनको बुधबार मेयर बिजय कुमार सरावगीले उदघाटन गर्नु भएको थियो ।
छात्रावास भवनको उद्वघाटन गर्दै मेयर सरावगीले फरक क्षमता भएका बालबालिकाहरुको लागि स्थानीय सरकारले जस्तोसुकै समस्यामा पनि सधैं साथ रहने बताउनुभयो । उहाँले शारिरिक रुपमा फरक क्षमता भएपनि उनीहरुमा पनि उत्तिकै मानसिक क्षमता हुने भएकोले त्यस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभयो ।
अहिले बहिराहरुको लागि मात्रै संचालनमा रहेको विद्यालयलाई पूर्ण अपांगमैत्री वातावरणमा शिक्षण सिकाई प्रदान गरेर अन्य अपांगता भएका व्यक्तिहरुको लागि पनि विद्यालयमा व्यावस्था गरिने बताउनुभयो । त्यसको लागि महानगरपालिकाले आगामी बर्षमा छुट्टै बजेटको पनि व्यावस्था गर्ने आश्वासन दिनुभयो ।
बिरगंज महानगरपालिकाको १५ लाख रुपैंया बजेटमा निर्माण शुरु भएको दुईवटा स्नान कक्ष, दुईवटा भान्सा घर सहितको छात्रावास भवनमा अहिले थप निर्माण कार्यहरु पनि भईरहेको र झण्डै २५ लाख रुपैंया लागत लाग्ने अनुमान गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अजय साहले बताउनुभयो ।
पाँच जना कान नसुन्ने विद्यार्थीहरुबाट पठन पाठन गरिएको विद्यालयमा अहिले ५० जना भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । छात्रावास निर्माणपछि विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्ने अनुमान गरिएको साहले बताउनुभयो ।
अहिले विद्यालयमा बस्ने खाने व्यवस्था नहुँदा कतिपय विद्यार्थीहरु आउन नसकेका र छात्रावास भवन निर्माण भएपछि टाढा टाढाका विद्यार्थीहरु पनि आउने भएकोले विद्यार्थीको संख्या बढ्ने उहाँको दावी छ ।
सो कार्यक्रममा शिक्षा शाखा प्रमुख अर्बिन्दलाल कर्ण , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , नेपाल टेलिभिजनका बिजय चौहान , पत्रकार सन्तोषमान रन्जितकार , अजित भुजेल , सामुदायिक सेवा केन्द्र मुर्लिका वरिष्ठ उपाध्यक्ष जयलाल साह लगायतकाको उपस्थिति रहेको थियो ।




